कित्ताकाट खोले पनि घरजग्गा कारोबारमा देखिएन सुधारको संकेत, भदौमा ३५ हजारमात्रै किनबेच



काठमाडौं । सरकारले कित्ताकाटमा देखिएको समस्या सम्बोधन गर्दासमेत घरजग्गा कारोबार झनै कम भएको पाइएको छ । सरकारले गत साउन ३२ गते भू-उपयोग नियमावली संशोधन गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो । तर, सरकारले कित्ताकाट खुला गरे पनि घरजग्गाको कारोबारमा भने सुधारको संकेत नदेखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

सरकारले उच्चरुपमा भएको कित्ताकाटलाई नियन्त्रण गर्ने भन्दै गत वर्षको जेठमा भूउपयोग नियमावली जारी गरेको थियो । नियमावली जारी भएसँगै घरजग्गा कारोबारमा निकै समस्या देखिएको थियो । जसले कारोबारसँगै राजस्व संकलनमा ठूलो धक्का पुगेको थियो ।

व्यवसायीहरुले नियमावली जारी भएसँगै कित्ताकाटमा देखिएको समस्या समाधानको लागि माग गर्दै आएका थिए । विभिन्न चरणको छलफल र भेटघाटपछि गत साउनको अन्त्यमा कित्ताकाट खुला गरी कारोबारमा सरकारले सहजीकरण गरेको थियो ।

व्यवसायीहरुले सरकारले कित्ताकाटको बाटो खुल्ला गरे कारोबारमा सुधारको संकेत देखिने बताएका थिए । तर, सरकारले कित्ताकाटको बाटो खुला गरे पनि कारोबार भने झन घटेको हो ।

विभागको तथ्यांकअनुसार भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको छ । जुन गत साउनको तुलनामा करिब ४ हजारले कम हो । गत साउनमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार २६३ घरजग्गा किनबेच भएको थियो ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले आर्थिक क्षेत्रमा देखिएको संकुचनले कारोबार बढ्न नसकेको बताए । अहिले अधिकांश क्षेत्रमा आर्थिक संकुचन देखिएको र त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबार पनि परेको उनले बताए ।

‘आर्थिक संकुचनले मानिसमा घरजग्गामा लगानी गरौं भन्ने खालको मनस्थिति सिर्जना हुन सकेको छैन,’ लोहनीले भने, ‘जबसम्म मानिसमा घरजग्गा क्षेत्रमा लगानी गरेर सुरक्षित महसुस हुँदैन, तबसम्म कारोबारले गति लिने देखिँदैन ।’

अहिले घरजग्गा कारोबार कम हुने समय भएकाले पनि किनबेच निकै कम देखिएको उनको भनाइ छ । सरकारले कित्ताकाटमा सहजीकरण गरे पनि कारोबार नहुने मौसम नभएकाले गति लिन नसकेको उनले जिकिर गरे । तर, आगामी मंसिरदेखि भने घरजग्गा कारोबारले गति लिने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

घरजग्गा व्यवसायी दिपक मल्होत्राले अहिलेको जस्तो संकट आफ्नो चार दशक बढीको व्यावसायिक करिअरमा नदेखेको बताउँछन् ।

‘एकातिर राष्ट्र बैंकको नीतिका कारण घरजग्गा व्यवसाय सुस्त छ भने अर्कातिर समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको सिकार पनि यही क्षेत्र परेको छ,’ मल्होत्राले क्लिकमान्डुसँग भने, ‘सरकारले माग बढाउने गरी काम नगर्दा घरजग्गा व्यवसायमा मात्रै होइन, अर्थतन्त्रनै समस्यातर्फ गइरहेको छ ।’

घरजग्गा क्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको उनको भनाइ छ । ‘घरजग्गा व्यवसायमा सुधार आयो भने दुई दर्जन बढी क्षेत्र चलायमान हुन्छ भन्ने कुरा नीति निर्माताहरुले नबुझ्दा समस्या आएको हो,’ उनले भने, ‘सरकारले घरजग्गा व्यवसायलाई तत्काल चलायमान बनाएन भने अर्थतन्त्र गम्भीर संकटमा जाने निश्चित छ ।’

त्यसैगरी, भदौ महिनामा ३६ हजार २८० जग्गा वर्गीकरण भई ८० हजार ३१७ कित्ता कायम भएको छ ।

साढे ३ अर्ब राजस्व संकलन

भदौ महिनामा कारोबार कम भए पनि राजस्व संकलनमा भने सुधार देखिएको छ । गत साउनमा ३९ हजार घरजग्गा किनबेच हुँदा २ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । भदौमा ३५ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

भदौ महिनामा विभागले सेवा करवापत २५ करोड ५५ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ, पुँजीगत लाभरकवापत १ अर्ब ९ करोड २८ लाख रुपैयाँ र मुख्यमन्त्री स्वछता अभियान कोष शुल्कबापत २ करोड ७३ लाख ६८ हजार राजस्व संकलन गरेको छ ।

भदौ महिनामा देशभरका मालपोतको कायालयमध्ये लगनखेलबाट उच्च राजस्व संकलन भएको छ । उक्त मालपोत कार्यालयबाट भदौमा ३७ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, डिल्लीबजारबाट २६ करोड ७५ लाख रुपैयाँ, भक्तपुरबाट २४ करो ५७ लाख रुपैयाँ, चावहिलबाट २२ करोड ९८ लाख रुपैयाँ र कलंकीबाट २१ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु