प्रतिबद्धता पूरा गर्न विकसित देशहरूलाई प्रधानमन्त्री प्रचण्डको आह्वान



न्युयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा जारी सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गरे ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको स्पष्ट पारे ।

अतिकम विकसित देशहरुले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै प्रधानमन्त्रीले दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए । यसका लागि दोहा कार्ययोजना स्वीकार गर्न उनले आग्रह गरे ।

उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने बताए ।

एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण संकटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे ।


रवि धिताल