एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’



काठमाडौं । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्न भएका छन् । यति मात्र होइन, ग्राहकले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्नेछन् ।

एनसेल आजियाटा लिमिटेडले वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ ल्याएको घोषणा गरेको हो । यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन् । आइतबारदेखि नै ग्राहकले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजका रुपमा उपहार निःशुल्क प्राप्त गर्न थालिसकेका छन् ।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकले सजिलै एष्ट्रिक्स१७११७ह्यास डायल गर्न सक्छन् । यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन् ।

ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाको लागि मान्य रहन्छ ।

२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरुप १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा, सात जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारको रूपमा एक-एक वटा स्कुटर जित्नेछन् ।

साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्छ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।


रवि धिताल