विश्व बैंकको अनुदान सहयोगमा तीन सडक कालोपत्र गरिने



बागलुङ । विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीनवटा सडक कालोपत्र गरिने भएको छ । २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भएको सडक कालोपत्र हुन लागेको हो ।

सम्झौताअनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिनेछ । अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो ।

सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो । जसअनुसार दुई वर्षभित्र ती सडकहरु कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले डिपिआरको काम सुरु गरेको छ । नगरपालिकाअन्तर्गतका तीन सडकहरु ८ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्र गरिनेछ ।

डिपिआर सक्नासाथ ठेक्कामा लैजाने गरी सडकको स्थाल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

तीन वर्षदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने उनको भनाइ छ ।

नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म ८.६ किमी, ओडारचौरदेखि ढोडेनीसम्म २.५ किमी र गणेश घुम्तीदेखि नीरयघाटको डेढ किमी सडक कालोपत्र गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।


क्लिकमान्डु