विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिन्छ: प्रधानमन्त्री



न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको गुनासो गरे ।

प्रधानमन्त्री दाहाल आजै न्युयोर्क आएका हुन् । उनलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग पनि भेटवार्ता गरेका छन् ।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्नेछन् ।


रवि धिताल