सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा स्थापना



सोलुखुम्बु । नबिल बैंकले सोलुखुम्बुको नाम्चेमा शाखा स्थापन गरेको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने रणनीतिअनुसार नाम्चेमा शाखा स्थापना गरिएको नबिल बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा पूर्व वडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका थिए । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए । ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रा लागि खुसीको क्षण हो,’ उनले भने ।

पूर्व वडाध्यक्ष शेर्पाले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापका लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

नबिल बैंकका सिईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

नबिल बैंकले २६५ शाखा सञ्जालसहित ३०६ एटीएम मेसिनबाट सेवा दिइरहेको छ । नबिल बैंकका ग्राहक १८ लाखभन्दा बढी पुगेको छ ।


क्लिकमान्डु