अब घुम्न जाँदा होटलमा बस्नु नपर्ने: स्पार्कले सुरु गर्‍यो ‘एड्भेन्चर क्याम्पर’, कति खर्च लाग्छ ?



काठमाडौं । तपाईं कुनै टाढाको यात्रामा जाँदै हुनुहुन्छ ? साथीभाइहरुको साथमा जाँदा तपाईंलाई होटलमा बस्न मन छैन वा तपाईंको यात्रामा कुनै निश्चित ठाउँमा साँझसम्म पुग्ने र होटलमा बास बस्नुपर्छ भन्ने बोझ लिन चाहनु हुन्न । खुला आकाशमुनि, ताराहरु नियाल्दै, अघिल्तिर क्याम्प फायर गरेर आनन्द लिन चाहनुहुन्छ ।

यस्तो अवस्थामा के गर्ने त ?

तपाईंका लागि एउटा जवाफ स्पार्क कारको भर्खरै लन्च भएको एड्भेन्चर क्याम्पर हुन सक्छ ।

नामजस्तै एड्भेन्चर क्याम्परले आफूसँग यात्राका लागि आवश्यक गाडी मात्रै नभएर क्याम्पिङका लागि आवश्यक सामग्री पनि उपलब्ध गराउँछ । साहसी पर्यटन गर्न चाहने, नयाँ-नयाँ गन्तव्य र नयाँ-नयाँ अनुभव लिन चाहनेका लागि स्पार्कको एड्भेन्चर क्याम्पर राम्रो विकल्प हुन सक्छ।

दशकभन्दा पुरानो कार भाडामा दिने कम्पनी स्पार्क कारले साहसी पर्यटन तथा पर्यटकलाई लक्षित गर्दै ‘एडभेन्चर क्याम्पर’ बजारमा ल्याएको छ । दैनिक २० हजार रुपैयाँको भाडामा कम्पनीले यो कारलाई बजारमा ल्याएको हो ।

कम्पनीले नाडा अटो शो २०२३ को संघारमा यसलाई तयार गरेर सार्वजनिक गरेको थियो । प्रदर्शनीका क्रममा राखिएको स्पार्कको एडभेन्चर क्याम्परले धेरैको ध्यान पनि तानेको थियो ।

प्रदर्शनीमा एड्भेन्चर क्याम्परका रुपमा तयार गरिएको फर्चुनर गाडीलाई राखिएको थियो । कम्पनीकी अपरेसन अफिसर सुनिशा श्रेष्ठका अनुसार स्पार्कले साहसी पर्यटनका लागि यो गाडीलाई तयार गरिएको हो ।

नेपालको पर्यटन क्षेत्रमा दशकौंदेखि कुनै पनि किसिमको विकास नभएका कारण केही फरक गर्ने हिसाबसहित एड्भेन्चर क्याम्परलाई सुरु गरिएको कम्पनीले बताएको छ । श्रेष्ठ भन्छिन्, ‘विदेशमा यस्ता किसिमका गाडी थुप्रै हुन्छन् । तर, नेपालमा यो चलन विकास भएको छैन । हामीले पर्यटकिय हिसाबले पनि केही नयाँ गरौं भन्ने सोचसहित यसलाई ल्याएका छौं ।’

स्पार्क कारको एड्भेन्चर क्याम्पर भनेको गाडीमाथि टेन्टलाई फिट गरिएको क्याम्पर हो । श्रेष्ठका अनुसार छतका रुपमा गाडि माथि नै बस्न मिल्ने गरी टेन्टलाई फिट गरिएको हुन्छ । सँगै यसमा किचनका सामग्री, कुर्सीलगायतका कुराहरु पनि हुन्छन् । एक प्रकारले भन्दा गाडीसँगै कुदिरहेको बस्ने ठाउँका रुपमा यसलाई लिन सकिन्छ । कम्पनीले यसलाई भाडामा लगाउनका लागि तयार गरेको छ ।

‘यो स्पार्क कारको एड्भेन्चरस टुरहरुका लागि बनाइएको हो,’ श्रेष्ठले भनिन्, ‘यो सबै सामान हजुरहरुले रेन्टमा लिन सक्नुहुन्छ । सेल्फ ड्राइभमा लिन पाउनुहुन्छ । ड्राइभर र फ्युलबाहेक २० हजार रुपैयाँ प्रतिदिनको लाग्छ ।’

दैनिक २० हजार रुपैयाँ तिर्दा ग्राहकले के-के पाउँछन् त ?

पहिलो कुरा त उनीहरुले गाडी पाउने श्रेष्ठ बताउँछिन् । गाडीसँगै छतमा राखिएको टेन्ट र बाहिर पनि बस्नका लागि अर्को टेन्ट गाडीमा नै हुन्छ । गाडीको छतमा भएको टेन्टलाई फोल्ड गरेर राख्न मिल्छ ।

२० हजार रुपैयाँ गाडीको भाडा मात्रै हो । गाडीका चालक र इन्धनको खर्च भने बेग्लै हुन्छ ।

हाल कम्पनीसँग यस्ता पाँच वटा एड्भेन्चर क्याम्पर रहेका छन् । ‘यहाँ भएको यो गाडी फर्चुनर हो, ७ जना बस्न मिल्ने सेभेन सिटर गाडी हो,’ श्रेष्ठले भनिन् ।

नाडा अटो शोमा स्पार्कको यो गाडीलाई लिएर धेरैले रुचि देखाएका छन् । नेपालमा पनि यस्तो गाडी पाइन्छ भन्ने कुरा नै धेरैलाई नौलो लागेको श्रेष्ठले बताइन् ।

‘रेन्टल कारहरुको लागि यहाँ विज्ञापन गर्नका लागि हामी थियौं,’ श्रेष्ठले भनिन्, ‘यो एड्भेन्चर क्याम्पर देखेपछि धेरैको रुचि यसप्रति पनि आएको छ । हामीसँग नम्बर लिएर गएर बुक गर्ने बताउनुभएको छ ।’

प्रायः धेरै टाढाको यात्रामा जाँदा र होटलमा खर्च गर्न नचाहेको खण्डमा स्पार्कको यो गाडी बहुउपयोगी हुने देखिन्छ । गाडीसँगै भाडामा आउने किचनका सामान, ग्यास, कुर्सी, बाहिरी टेन्टजस्ता कुराहरुले यसलाई एउटा कुदिरहेको घरजस्तो बनाएको देखिन्छ ।

‘यो क्याम्परमा सबै कुराहरु हुन्छ,’ उनले भनिन्, ‘किचनको सामानदेखि टेन्टको सामान सबै हुन्छ । होटल नभएको ठाउँमा, एड्भेन्चरमा जाँदा यो काम लाग्छ ।’

कम्पनीले आफ्नो एड्भेन्चर क्याम्परलाई नाडा अटो शोकै बीच लन्च गरेको श्रेष्ठले बताइन् । हालका लागि भने स्पार्कले यसलाई भाडामा दिनका लागि मात्रै तयार गरेको छ । किन्नका लागि नभई आफूहरुले भाडाका लागि मात्रै यसलाई तयार गरिएको श्रेष्ठले बताइन् ।

कुनै व्यक्तिले यस्तै गाडी तयार गर्न चाहेमा वा किन्न चाहेमा आफूहरुले सम्बन्धितहरुसँग कनेक्सन भने बनाइदिने उनले बताइन्। उनले भनिन्, ‘अहिले त हामीले यसलाई बिक्रीका लागि राखेका होइनौं । भाडामा पाइन्छ भन्ने जानकारी दिनका लागि राखेका हौं । तर, कसैले यस्तै तयार गर्न चाहेमा हामी सम्बन्धित ठाउँहरुमा कनेक्सनचाहिँ बनाइदिन्छौं ।’

कम्पनीले २४ घण्टाकै लागि कल सेन्टर राखेको र जुनसुकै बेला पनि बुक गर्न सकिने श्रेष्ठले बताइन् । प्रदर्शनीमा मान्छेले दिएको प्रतिक्रियाले एड्भेन्चर क्याम्परप्रति मान्छेहरुले धेरै चासो राखेकाले आफूहरु पनि उत्साहित रहेको उनले बताइन् ।

त्यसो भए यसलाई भाडामा लिन के गर्ने त ?

त्यसको जवाफ भने स्पार्कका अन्य गाडीहरु भाडामा लिँदा जस्तै नै छ । कसैले यो गाडीलाई भाडामा लिन चाहेमा कम्पनीमा सम्पर्क गर्नु नै प्रमुख कदम हुन्छ । त्यसपछि भने आफूहरुले ट्रायल लिने र विभिन्न कुराहरु चेक गर्ने श्रेष्ठले बताइन् ।

गाडी भाडामा लिँदा कुनै दुर्घटना नहोस् वा गाडीमा कुनै क्षति नहोस् भनेर आफूहरुले १० लाख रुपैयाँको सेक्युरिटी डिपोजिट पनि लिने गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीले सेक्युरिटी डिपोजिट १० लाख लिइरहेका छौं । न्यूनतम २ तीन दिनका लागि लैजाने हो । धेरै दिनका लागि लैजाँदा हामीले प्याकेजहरुको पनि व्यवस्था गरेर नेगोसिएसनमा गर्छौं ।’

एड्भेन्चर क्याम्परबाहेक स्पार्क कारले अन्य गाडीहरुको पनि भाडामा लिन मिल्ने सेवा दिइरहेको छ । विभिन्न किसिमका प्याकेजमा स्पार्क कारले कार, जिप, बस, हायस, एसयुभिजस्ता गाडीहरुलाई भाडामा लिन मिल्ने सुविधा दिइरहेको छ ।

भदौ २६ देखि राजधानीको भृकुटीमण्डपमा चलेको नाडा अटो शो भदौ ३१ गते सकिएको छ ।


क्लिकमान्डु