साउनमा निक्षेप र कर्जा दुवै घट्यो



काठमाडौं । साउनमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ अर्थात् २.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ७७ करोड अर्थात् २ प्रतिशतले घटेको थियो ।

गत वर्ष साउनको आधारमा २०८० साउन मसान्तमा भने बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत थियो ।

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत छ । २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ अर्ब ३५ करोड अर्थात् ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ अर्ब ३१ करोड अर्थात् ०.०५ प्रतिशतले घटेको थियो ।

गत वर्ष साउनको आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.८
प्रतिशतले बढेको छ ।

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशत र विकास बैंकहरुको ०.२ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.१ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.६ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशतले, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.३ प्रतिशतले, नगद प्रवाह कर्जा ७.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २८.९ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १६.८ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु