१ खर्ब ४५ अर्ब खर्चिएर अन्तरिक्ष यात्रीसहित भारतले गगनयान मिसन गर्दै



एजेन्सी । भारतले १ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गरेर आगामी केही महिनाभित्रमा नै पुनः अर्को अन्तरिक्ष मिसन गर्ने भएको छ । रोयटर्सका अनुसार भारतले महत्वकांक्षी गगनयान मिसन गर्ने भएको हो ।

भारतको यो मिसनका लागि चार जना अन्तरिक्ष यात्रीले हाल प्रशिक्षण लिइरहेको परियोजनाका प्रमुख आर. हुट्टनले रोयटर्सलाई बताएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले हालका लागि चार जनालाई प्रशिक्षण दिइरहेको र भविष्यमा अझै धेरै अन्तरिक्ष यात्रीसहितको मिसन गर्ने हुट्टले बताएका छन् ।

गगनयान मिसनको लक्ष्य मान्छे बस्न सक्ने स्पेस क्याप्सुल निर्माण गर्ने रहेको छ । तीन जना अन्तरिक्ष यानका सदस्यहरुलाई ४०० किमीको अर्बिटमा तीन दिनसम्म बस्ने गरी यसको विकास गरिने र पछि अन्तरिक्ष यानलाई इन्डियन महासागरमा सुरक्षित रुपमा अवतरण गरिनेछ ।

इसरोले गगनयान मिसन पूरा भएसँगै आफूहरुले दीर्घकालीन रुपमा अन्तरिक्षमा मानिसको उपस्थितिमा भारतको नाम पनि लेखाउने बताएको छ ।

हाल गगनयान परियोजनाका सदस्यहरुले गगनयानको ‘स्केप सिस्टम’लाई परीक्षण गरिरहेको छ । आपतकालीन समयमा अन्तरिक्ष यात्रीहरु यो प्रणालीको प्रयोग गरेर निस्किन सक्नेछन् ।

यो परियोजनाका लागि भारतले १ खर्ब ४५ अर्ब ८७ करोड १७ लाख रुपैयाँ अर्थात १.१ बिलियन अमेरिकी डलर छुट्याइएको छ।

गगनयान कुन मितिमा अन्तरिक्षका लागि उडान गर्नेछ भन्ने निश्चित समय नखुलाइएको छैन । तथापि सन् २०२४ को सुरुवातमा उडान गरिने बताइएको छ । यसका लागि श्रीहरिकोठामा रहेको भारतको मुख्य स्पेसपोर्टको प्रयोग गरिने अपेक्षा गरिएको छ ।


रवि धिताल