नाडा अटो शोमा थरी-थरीका इलेक्ट्रिक स्कुटर र बाइक, कुनको मूल्य कति ?



काठमाडौं । भदौ २६ गते सुरु भएको नाडा अटो शोमा यसपटक विद्युतीय गाडी तथा स्कुटर र बाइकमा विशेष आकर्षण देखिएको छ । अटो शोमा पेट्रोल तथा डिजेलका गाडी तथा स्कुटर र बााइकभन्दा अवलोकनकर्ताको झुकाव विद्युतीयतर्फ देखिएको हो ।

प्रदर्शनीमा विभिन्न किसिमका विद्युतीय बाइक र स्कुटर राखिएका छन् । करिब दर्जन स्टलहरुमा विद्युतीय बाइक र स्कुटरहरु राखिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा रहेको इटालिका मोटरवर्कका सेल्स विभागका उमंग दाहालका अनुसार विद्युतीय बाइक र स्कुटरमा मान्छेको बढ्दो रुचि देखिएको छ । धेरैले बुक गर्ने तथा जानकारी मात्रै लिनका लागि पनि आउने गरेको पाइएको उनले बताए । उनले भने, ‘धेरै मान्छेहरु बुझ्न आउनुभएको छ । गाडीमा जस्तै बाइक र स्कुटरमा पनि ईभीतर्फ नै मान्छेको आकर्षण बढिरहेको छ।’

कुन मूल्यमा कस्ता विद्युतीय स्कुटर र बाइक ?

प्रदर्शनीमा १ लाख ८० हजार रुपैयाँदेखि करिब ५ लाख रुपैयाँसम्मका विद्युतीय बाइक र स्कुटर राखिएका छन् ।

पियोर ईभी नेपालले नियो ब्रान्डका १ लाख ८० हजारदेखि २ लाख ७५ हजार रुपैयाँसम्मका विद्युतीय बाइक तथा स्कुटरहरु बिक्री गरिरहेको छ । पूर्ण चार्जमा ९० देखि ११६ किमीसम्म रेन्ज दिने उक्त कम्पनीको इप्लुटो सेभेन जीको मूल्य २ लाख ७५ हजार रुपैयाँ छ । सो स्कुटरले ६० किमी प्रतिघण्टाको उच्च स्पिड दिन्छ ।

त्यस्तै, नियोकै ६० किमीसम्मको उच्च स्पिड दिने ९० देखि ११६ किमीसम्मको रेन्ज पूर्ण चार्जमा दिने नियो इन्ट्रान्स स्कुटरको मूल्य २ लाख ६० हजार छ । त्यस्तै, ५० किमीको उच्च स्पिड दिने अर्को स्कुटर ट्राक्सन रहेको छ । यसले ७५ देखि ८५ किमीसम्मको रेन्ज पूर्ण चार्जमा दिन्छ । यसको मूल्य भने १ लाख ८० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, नियोको इलेक्ट्रोनिक बाइकको मूल्य भने २ लाख २५ हजार रुपैयाँ छ । यसले पनि ५० किमी प्रतिघण्टाको उच्च स्पिड दिन्छ । एक पटक पूरा चार्ज भएपछि यसले दिने रेन्ज भने ९० देखि १०१ किमीसम्म छ ।

त्यस्तै, इटालिका मोटोवर्कसले बिक्री गर्ने सुन्रा ब्रान्डका स्कुटरहरु १ लाख ८९ हजार रुपैयाँदेखि ३ लाख ७९ हजार रुपैयाँसम्म मूल्यका छन् । उक्त कम्पनीको सिंगल ब्याट्री हक मोडलको स्कुटरको मूल्य २ लाख ३६ हजार छ भने डबल ब्याट्री रहेको सोही मोडलको मूल्य ३ लाख १७ हजार रुपैयाँ छ ।

त्यस्तै, सुन्रा ब्रान्डको के फाइभ मोडलको स्कुटरको मूल्य १ लाख ८९ हजार रुपैयाँ छ । यसमा ग्राफेन ब्याट्री रहेको छ । त्यस्तै, रोबो-एसको मूल्य भने ३ लाख ७९ हजार रहेको छ । यसमा पनि डबल ब्याट्री छ ।

बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले सिंगल ब्याट्रीमा ७५ किमी र डबल ब्याट्रीमा १५० किमी रेन्ज दिने किसिमका स्टुकर नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ । स्कुटरहरु एलभिनेंग ब्रान्डका हुन् ।

एलएक्स ०१ को ७५ किमी रेन्ज दिने स्कुटरको मूल्य २ लाख ६० हजार रहेको छ भने १५० किमी रेन्ज दिनेको मूल्य ३ लाख २५ हजार रहेको छ । सोहीअनुसार एक एक्स ०२ को मूल्य पनि ७५ किमी रेन्जका लागि २ लाख ५५ हजार र १५० किमी रेन्जका लागि ३ लाख २० हजार रहेको छ । एलएक्स ०३ मा ७५ किमी रेन्जका लागि २ लाख २५ हजार मूल्य राखिएको छ भने १५० किमी रेन्जका लागि २ लाख ८० हजार मूल्य राखिएको छ ।

एल एक्स ०५ को ७५ किमी रेन्ज दिने मोडलको मूल्य २ लाख ६९ हजार रुपैयाँदेखि ३ लाख ३० हजार रुपैयाँसम्म रहेको छ भने १५० किमी रेन्ज दिनेको मूल्य ३ लाख २५ हजार रुपैयाँदेखि ३ लाख ९० हजार रुपैयाँसम्म रहेको छ । मूल्यअनुसार यो मोडेलमा जर्मनीमा बनेको बोस्चको १.५० किलोवाटदेखि ३ किलोवाटसम्मका इन्जिन छन् ।

त्यस्तै, एलएक्स ०५ डिको मूल्य ७५ किमी रेन्जका लागि ३ लाख ५५ हजार र १५० किमी रेन्जका लागि ४ लाख ३५ हजार रहेको छ । यसमा पनि जर्मनीमा बनेको बोस्च कम्पनीको २.०२ किलोवाटको इन्जिन रहेको छ ।

२.०३ किलोवाटको इन्जिन रहेको एलएक्स ०८ मोडलको ७५ किमी रेन्जको मूल्य २ लाख ९९ हजार र १५० किमी रेन्जको मूल्य ३ लाख ६५ हजार रुपैयाँ रहेको छ । एलएक्स सिरिजका सबै स्कुटरहरुले उच्च स्पिड ४५ किमी प्रतिघण्टासम्म दिन्छन्।

त्यस्तै, ईभी नेपाल मोटर्सले बिक्री गर्ने सबैभन्दा महँगो स्कुटरमा भने एलएक्स म्याक्स रहेको छ । यो स्कुटर भने १५० किमी रेन्ज दिने भेरियन्टमा मात्रै उपलब्ध छ, जसको मूल्य ५ लाख २५ हजार रुपैयाँ छ । यसले ७५ किमी प्रति घण्टासम्मको उच्च स्पिड दिन्छ ।

एनसिई मोडलको स्कुटरको मूल्य भने ४ लाख ९९ हजार रुपैयाँ छ । यसले ४५ किमी प्रतिघण्टाको स्पिड दिन्छ भने यसको रेन्ज १ सय किमी पूर्ण चार्जमा रहेको छ ।

एन्डुरो मोटर्सले दुई विद्युतीय बाइक प्रदर्शनीमा राखेको छ । जसमध्ये अर्बन एस र अर्बन ब्लासिक रहेका छन् । यीमध्ये अर्बन क्लासिकको मूल्य १२ लाख ५० हजार रुपैयाँ रहेको छ भने अर्बन एसको मूल्य १२ लाख रुपैयाँ छ ।

अर्बन क्लासिक विद्युतीय बाइक तथा स्कुटरहरुमध्येमै नाडा अटो शोमा रहेको महँगो विद्युतीय बाइकमध्येको हो । यसले १३० किमीसम्मको उच्च स्पिड दिन सक्छ । त्यस्तै, शून्यदेखि १०० किमीको स्पिडमा पुग्न केवल ६ सकेन्ड लिन्छ ।

बाइकमा लिथियम आयन ब्याट्री रहेको छ, जसले सहरी क्षेत्रमा २ सय किमीसम्मको रेन्ज दिने र हाइवेमा १२० किमीसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । पूरा चार्ज हुन ४ घण्टा लाग्ने ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशत चार्ज गर्न तीन घण्टा लाग्छ । यसमा १९ किलोवाटको हव मोटर रहेको छ ।

जमुनी अटो सेन्टर प्रालिले चिनियाँ कम्पनी स्लेनको स्कुटर प्रदर्शनीमा राखेको छ । एउटै मात्र मोडलको स्कुटरलाई प्रदर्शनीमा राखेको उक्त कम्पनीले स्लेन एन ९० स्कुटर ग्राहकमाझमा प्रस्तुत गरिरहेको छ । उक्त स्कुटरको मूल्य भने ३ लाख ५० हजार रुपैयाँ रहेको छ । स्कुटरले १३० देखि १५० किमीसम्मको रेन्ज दिन्छ भने ६० किमीसम्मको उच्च स्पिड दिन्छ ।

त्यस्तै, कुजु नेपालले प्रदर्शनीमा याडेआ ब्रान्डका चार किसिमका स्कुटर राखेको छ । मुख्य गरी नबिल बैंकका ग्राहकका लागि ३ वर्ष वा २० हजार किमी कुदाउँदासम्म ब्याट्री र मोटरमा पनि वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

याडेआका स्कुटरहरुमा २ लाख ३० हजार रुपैयाँको ‘ई ८ एस प्रो’ रहेको छ, जसले पूरा चार्जमा १५० किमीसम्मको रेन्ज दिन्छ । उक्त मोडलमा ग्राफेन ब्याट्री रहेको छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा रहेको छ ।

४५ किमी प्रतिघण्टाको टप स्पिड रहेको १ लाख ७५ हजार रुपैयाँ मूल्य पर्ने ‘याडेआको एम सिक्स’ले ९० किमीको रेन्ज दिन्छ। यसमा पनि ग्राफेन ब्याट्री रहेको छ ।

याडेआको ‘जि फाईभ’ ले भने ८० किमीसम्मको रेन्ज पूरा चार्जमा दिन्छ, जसको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । यसले ६० किमी प्रति घण्टासम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । यसमा भने पानासोनिक लिथियम ब्याट्री रहेको छ ।

याडेआको ‘सि १ एस’को मूल्य भने ३ लाख ७० हजार रहेको छ । पूरा चार्जमा ८० किमीसम्मको रेन्ज र ६० किमी प्रतिघण्टाको स्पिड दिने यो स्कुटरमा पानासोनिक लिथियम ब्याट्री रहेको छ ।

सेगवे ब्रान्डका स्कुटर बेच्ने आईहब नेपालले विभिन्न चार मोडलका स्कुटरहरु नाडा अटो शोमा राखेको छ । २ लाख ६० हजार रुपैयाँमा ‘एन १००’ रहेको छ, जसले पुरा चार्जमा ६२ किमी प्रतिघण्टाको स्पिड र ६० देखि १०५ किमीसम्मको रेन्ज दिन्छ । त्यस्तै, २ लाख ९१ हजार रुपैयाँमा पाइने ‘ई १००’ले ५८ किमी प्रतिघण्टाको उच्च स्पिड र पूर्ण चार्जमा ६० देखि १०० किमीसम्मको रेन्ज दिन्छ ।

त्यस्तै, सेगवेकै ‘ई ११० एल’को मूल्य ३ लाख ६५ हजार रुपैयाँ रहेको छ, जसले पूरा चार्जमा ६० देखि ११० किमीसम्मको रेन्ज दिन्छ । यसको उच्च स्पिड भने ६२ किमी प्रतिघण्टा रहेको छ । सेगवेको महँगो स्कुटरमा ३ लाख ९१ हजार रुपैयाँको ‘ई १२५’ रहेको छ । पूर्ण चार्जमा यसले ६० देखि १२० किमीसम्मको रेन्ज र ७५ किमी प्रतिघण्टाको स्पिड दिन्छ ।


रवि धिताल