बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग



धादिङ । सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिएका छन् ।

सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको भन्दै उनले सरकारले देशका लागि आवश्यक आयोजना भनेर प्राथमिकतामा राखे तुरुन्तै सुरु हुने बताए ।

शुक्रबार गृह जिल्ला धादिङ पुगेका सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा भने, ‘सरकारले चासो र ग्यारेन्टी लिन पर्‍यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन ।’

मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उनले समय गुज्रिँदै जाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएको बताए ।

‘बूढीगण्डकीलगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो । तर भाषणमै  सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ । त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ,’ सांसद अर्यालले भने, ‘धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी छ ।’


रवि धिताल