साल्ट ट्रेडिङले सुरु गर्‍यो तेल उत्पादन



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको खाने तेलको उत्पादन सुरु गरेको छ । लामो समयको प्रयासपछि कर्पोरेसनले तोरीको तेल उत्पादन गर्न थालेको हो ।

कर्पोरेसनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार गत मंसिरदेखि कच्चा घानीको तोरीको परीक्षण तेल उत्पादन गर्न सुरु गरिएको हो । कर्पोरेसनले ‘शान्ति’ ब्रान्डमा तेल उत्पादन गरी बजारमा ल्याएको हो ।

खड्काका अनुसार हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको नेपाल वनस्पती घीउ लिमिटेड उद्योगबाट यो तेल उत्पादन भइरहेको छ । यो उद्योगबाट कुनैबेला साल्टले वनस्पति घीउ उत्पादन गरी बिक्री गर्दै आएको थियो । वनस्पति घीउको बजार धराशयी भएपछि बन्द भएको सोही उद्योग तेलमा उत्पादन गर्ने सानो प्लान्ट राखेर तोरी तेल उत्पादन गर्ने काम सुरु भएको हो ।

स्वदेशी बजारबाट तोरी खरिद गरी तेल उत्पादन गर्दै आएको खड्काले जानकारी दिए । उत्पादित तेल कर्पोरेसनकै बिक्री केन्द्रमार्फत बजारीकरण भइरहेको छ । कारखानाको उत्पादन क्षमता प्रतिदिन १ टन छ । १ टन तोरी पेल्दा ४० प्रतिशतको दरले करिब ४ सय लिटर तेल उत्पादन हुने गरेको छ ।

उत्पादन सुरु गरिए पनि लागत खर्च अत्यधिक भएकाले बजारमा उपलब्ध अन्य ब्रान्डको खानेतेलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएको खड्काले बताए ।

‘अहिले हामी थोरै परिमाणमा उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘उपभोक्ताले यो उत्पादन रुचाइदिनुभयो भने विस्तारै उत्पादन क्षमता बढाउँदै लैजाने हो । अहिले हामीले आफ्नै बिक्री केन्द्रहरुबाट यसको बिक्री सुरु गरेका हौं ।’

प्रतिलिटर तेललाई अहिले ३८० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ । तोरी पेल्दा उत्पादन हुने सहउत्पादन पिना दाना उद्योग र माछा फार्मले खरिद गर्दै आएका छन् ।


रवि धिताल