चार वटा बैंकले गरे लाभांश घोषणा, कुनले कति दिँदैछन् ?



काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । लाभांश घोषणा गरेका चार वटा बैंकमा एउटाले साधारण सभा नै बोलाइसकेको छ ।

अहिलेसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

उच्च लाभांश दिने दोस्रो बैंकमा एभरेष्ट छ । बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ९ प्रतिशत र करसहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ ।

बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभाका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज ७ सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकहरुको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


रवि धिताल