एनआईसी एशियाले घोषणा गर्‍यो ३०.५२ प्रतिशत लाभांश, यस्तो छ १० वर्षको इतिहास



काठमाडौं । विगत दुई आर्थिक वर्ष लाभांश नदिएको एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट भने उच्च लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ मा लाभांश बाँड्न पाएको थिएन । दुई आर्थिक वर्षमा बैंकले प्राथमिक पुँजीकोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।

एघार वर्षको इतिहास हेर्ने हो भने एनआईसीले सेयरधनीका लागि औसतमा १८.३२ प्रतिशत लाभांश दिएको छ । औसतमा यो लाभांशलाई आकर्षक मानिन्छ । बैंकले न्यूनतम १०.५३ देखि अधिकतम ४१.०५ प्रतिशतसम्म लाभांश दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १९ र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश थियो । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत लाभांश दिइएको थियो । जसमा बोनस १० र नगद ११.०५ प्रतिशत थियो । आव  २०७४/०७५ मा बैंकले १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र कर प्रयोजनका लागि ०.५३ प्रतिशत लाभांश थियो ।

बैंकले आव २०७३/७४ मा २१.०५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २० र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७२/७३ मा २७.३७ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २६ र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश छ ।

आव २०७१/७२ मा अहिलेसम्मकै सबैभन्दा बढी ४१.०५ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा बोनस ३९ प्रतिशत र करसहित २.०५ नगद लाभांश दिएको थियो । आव २०७०/७१ मा ३० प्रतिशत लाभांश दिँदा बोनस १५ र नगद १५ प्रतिशत छ ।

यस्तै आव २०६९/०७० मा नगद मात्रै २० प्रतिशत लाभांश दिएको थियो । अहिलेसम्म बैंकले दिएको लाभांश हेर्दा नगदभन्दा बोनस नै बढी छ । बैंकको लाभांशले सेयरधनीलाई भने उत्साहित नै बनाएको बताइन्छ ।


रवि धिताल