दुई महिनामा सडक अनुशासन उल्लंघन गर्ने १ लाख १७ हजारलाई कारबाही



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजारलाई कारबाही गरिएको छ ।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्ममा सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको जानकारी दिए ।

उनका अनुसार आव २०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ र आव २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो ।

बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार ६ सय ४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए । ‘यसअघि सङ्घीय र प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ । विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था तथा कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ,’ उनले भने, ‘ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन् ।’


रवि धिताल