युरोपेली केन्द्रीय बैंकले १४ महिनामा १० पटक बढायो ब्याजदर, कहिले-कहिले बढ्यो ?



एजेन्सी । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सेप्टेम्बर २० देखि लागू हुनेगरी १०औं पटक निक्षेप सुविधाको ब्याजदर बढाएको हो । पछिल्लो वृद्धिसँगै ब्याजदर अहिलेसम्मकै उच्च भएको छ ।

ब्याजदर बढाउनुपर्ने या स्थिर राख्नुपर्ने भन्ने विषयमा अर्थशास्त्रीहरु विभाजित भइरहेका बेला ईसीबीले २५ आधार विन्दुले ब्याज बढाएर ४ प्रतिशत पुर्‍याएको हो ।

पछिल्लो वृद्धिसँगै पुनर्कर्जाको ब्याजदर ४.५ प्रतिशत, मार्जिनल कर्जा सुविधाको ब्याजदर ४.७५ प्रतिशत र निक्षेप सुविधाको ब्याजदर ४ प्रतिशत पुगेको छ ।

१४ महिनामा ईसीबीको निक्षेप सुविधा ब्याजदर शून्य प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ । सन् २०२२ जुलाई २७ मा ईसीबीको निक्षेप सुविधा ब्याजदर शून्य प्रतिशत थियो ।

सन् २०२२ सेप्टेम्बर १४ मा बढाएर ०.७५ प्रतिशत पुर्‍याइयो । नोभेम्बर २ मा १.५ प्रतिशत, डिसेम्बर २१ मा २ प्रतिशत, २०२३ फेब्रुअरी ८ मा २.५ प्रतिशत, मार्च २२ मा ३ प्रतिशत, मे १० मा ३.२५ प्रतिशत, जुन २१ मा ३.५ प्रतिशत र अगस्ट २ मा ३.७५ प्रतिशत पुर्‍याइएको थियो ।

जर्मनीको फ्राङ्कफर्टमा रहेको ईसीबीको गभर्निङ काउन्सिलले बिहीबार ब्याजदर बढाउने निर्णय गरेको थियो । ब्याजदर वृद्धिको निर्णयपछि युरो डलरको तुलनामा ३ महिनाकै न्यूनमा झरेको छ ।


रवि धिताल