जमुनाह नाकामा सीमापारि जाने उपभोक्ताको लर्को



फाइल तस्बिर

बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपाली रुपेडिहा पुग्ने गरेका हुन् ।

अहिले प्रत्येक दिन १० हजारभन्दा बढी नेपाली जमुनाह नाका हुँदै रुपेडिहामा जाने गरेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर विष्टले बताए ।

‘शुक्रबार र शनिबार सीमामा थामिनसक्नु भीड लाग्ने गरेको छ,’ उनले भने, ‘सहजरुपमा आवतजावतको लागि हरदम प्रयास गरिरहेका छौँ ।’ तीजको किनमेल गर्न रुपेडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानलगायत स्थानका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपेडिहामा नेपाली रुपैयामा कारोबार हुने गरेको छ । व्यापारीले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाका लागि सहज बनाएका छन् । नेपाली उपभोक्ताको भरमा रुपेडिहा बजार चलेको मोफसलका पत्रकार सन्तोष शुक्लाले बताए ।

तीज आउन केही दिन बाँकी रहे पनि नेपालगञ्ज बजार सुनसान छ । बजारमा उपभोक्ताको चहलपहल कम छ तर सीमा पारी भारतीय बजार रूपेडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपेडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । रुपेडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक करिब एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ ।

दैनिक उपभोग्य सामान, तरकारीलगायत वस्तु किन्न सयौं नेपाली सीमा पार जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको उनको भनाइ छ । नेपाली उपभोक्ता भारतीय बजार किनमेलका लागि जाने परम्परा पुरानै भएकाले उनीहरूलाई नेपालगञ्जमै रोक्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गरे पनि निर्वाचनपछि सेलाउँदै जाने गरेको छ ।

एक सातायता किनमेल गर्न रुपेडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । उनका अनुसार दैनिक करिब दुई/तीन सय नेपाली उपभोक्ता किनमेलका लागि रुपेडिहा जाने गरेका छन् ।

घरायसी प्रयोजनका सामान किन्न सीमावर्ती बजारतिर धाउने सीमा क्षेत्रका स्थानीयवासीसँगै चाडपर्वका बेला टाढाटाढाबाट पनि नेपाली उपभोक्तारुपेडिहा जाने गर्छन् । घर रंगरोगनदेखि विद्युतीय सामग्री, मसला, फलफूल र लत्ताकपडा प्रायजसोले रुपेडिहाबाटै खरिद गरेर ल्याउने गरिन्छ ।


रवि धिताल