श्यामबहादुरको गुनासो- दानामा मूल्य धेरै बढ्यो, धरापमा पर्यो बंगुरपालन व्यवसाय
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१३ का श्यामबहादुर विश्वकर्माले बंगुरपालन व्यवसाय थालेको सात वर्ष भयो । वैदेशिक रोजगारीमा ६ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजारस्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बंगुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका हुन् ।
कोरोना कहरअघि विश्वकर्माको फार्ममा करिब तीन सय बंगुरका माउ र पाठापाठी थिए । अहिले भने त्यो सङ्ख्या घटेर एक सय वटाको हाराहारीमा छ । मासिक १२ लाख कमाउँदै आएका उनको आम्दानी अहिले घट्दै गएको छ ।
उनी व्यावसाय सञ्चालन गरेको चार वर्ष बंगुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आएका थिए । बंगुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको उनको भनाइ छ ।
‘व्यवसाय सुरु गरेको वर्ष कसरी मासु बिक्री गर्ने भन्ने चिन्ता हुन्थ्यो, एक वर्षपछि प्रचारप्रसार राम्रो भयो र बंगुरका पाठापाठी र मासु पुर्याउनै धौ भयो,’ उनले भने, ‘अहिले दानापानीमा लगानी गर्न गाह्रो हुँदै गएको छ, ढुवानी खर्च बढी हुँदा बंगुर निर्यातमा समेत समस्या हुँदै आएको छ ।’
व्यवसाय सुरु गर्दा आठ सयमा किनेको मकै अहिले १७ सय पुगेको उनले बताए । किसान विश्वकर्माले भने, ‘यस्तै समस्या यथावत् रहे व्यवसायबाट पलायन हुने स्थिति नआउला भन्न सकिन्न ।’
व्यवसाय गरेको करिब चार वर्ष उनी सन्तुष्ट थिए । विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बंगुरलाई दाना पुर्याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गरे ।
उनले लगानीअनुसार अन्य पशुपन्छीको तुलनामा बंगुरको मासुको मूल्य उचित नभएको बताए । ‘स्थानीय बजारमा एक किलो खसीको मासुको मूल्य ९ सय रुपैयाँ हुँदा बंगुरको मासुको मूल्य धार्नीको आठ सय रुपैयाँ हुनु किसान मर्कामा पर्नु हो,’ विश्वकर्माले भने, ‘खसीबोकामा भन्दा बंगुरपालनमा उत्पादन लागत दोब्बर छ, सरकारले बंगुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ ।’
उनले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राखे । विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए ।
‘विदेशमा ६ वर्ष बिताएँ, आर्थिक स्थिति तब पनि सुल्झेन,’ उनले भने, ‘परदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बंगुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन ।’
विश्वकर्माले घरमा पाल्दै आएका तीन माउ र एउटा बंगुरको पाठोबाट सङ्ख्या बढाएर २६ बंगुर भएपछि फार्म दर्ता गरेका थिए । सुरुमा उनले मासु उत्पादनका लागि बंगुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएका छन् ।
यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ । उनलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आएकी छन् ।