मिड सोलुको हाइड्रोपावरको आईपीओ बिक्री शुक्रबारदेखि
काठमाडौं । मिड सोलु हाइड्रोपावरको साधारण सेयर भोलि निष्कासन हुने भएको छ । कम्पनीको आईपीओ बिक्री बिहीबारदेखि सुरु हुने भनिएकोमा सार्वजनिक बिदाको दिन परेकाले प्रारम्भिक सार्वजनिक निष्कासन मिति एक दिन पछि सारिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २ सय रुपैयाँबराबरको १०० अंकित दरका ६ लाख २१ हजार १७२ कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को अधिनमा रही भदौ १९ गते प्रकाशित आह्वान पत्रअनुसार साधारण सेयरको निष्कासन तथा बिक्री खुला मिति भदौ २८ देखि गर्ने उल्लेख गरिएकोमा सरकारले सार्वजनिक बिदा दिएको हुँदा सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन मिति भदौ २९ कायम गरिएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
शुक्रबारदेखि निष्कासन हुने साधारण सेयरका लागि छिटोमा असोज २ गते र ढिलाोमा असोज १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्न लागिएको एनआईसी एसिया क्यापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मिड सोलुले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।
त्यस्तै जारी पुँजीको १० प्रतिशत अर्थात् ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयरमध्ये १०० अंकित दरका ७४ हाजार ८४० कित्ता साधारण सेयर विदेशमा रोजगारीमा रहेका नेपालीलाई निष्कासन तथा बाँडफाँड गरिएको छ ।
उक्त सेयर बाँडफाँडपश्चात् कर्मचारीलाई १४ हजार ९६८ (२ प्रतिशत) तथा सामूहिक लगानी कोषका लागि ३७ हजार ४२० कित्ता (सर्वसाधारणमा निष्कासन गर्ने सेयरको ५ प्रतिशत) सुरक्षित गरिएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।