सीआईबीले बुझायो ६० किलो सुन तस्करीको प्रतिवेदन, सरकारी वकिल कार्यालयले ३ दिनभित्र मुद्दा दर्ता गर्ने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

सिआइबीले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी दिए ।

अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको भन्दै प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीहरुसमेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको बताए । संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न ६० दिनसम्मको समय हुने भन्दै उनले आज ५७ दिन पुगिसकेकाले बाँकी रहेको ३ दिनभित्रमा अदालतमा अभियोजनका लागि पेस गर्ने जानकारी दिए ।

रातदिन काम गरेर भए पनि तीन दिनभित्रमा सरकारी वकिलको कार्यालयले गर्नुपर्ने काम सक्ने र समय सीमाभित्रै अदालतमा मुद्दा दर्ता गर्ने उनले बताए ।


रवि धिताल