व्यावसायिक फूलखेतीबाट आम्दानी गर्दै युवा, फूल नबिक्दा ‘टिकटक स्पोर्ट’



दाङ । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यवसायी दशरथ साउद ।

वाणगंगा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् ।

उनको फूलखेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । भास्करसँगै व्यवसायमा जोडिएका प्राविधिक सहायक दशरथले फूलखेतीको प्रविधिक पक्ष हेर्ने गरेका छन् ।

कृषि प्राविधिक पढेर कृषिमा लागेका दशरथले फूलखेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गरेका छन् ।

कपिलवस्तुमा पाँच वर्षदेखि फूलखेती गरिसकेका भाष्कर र दशरथले दुई वर्षदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका हुन् । दाङको घोराही-१५ भरतपुरमा १७ कट्ठा र घोराही-१२ शिवपुरमा १३ कट्ठा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक फूलखेती गरेका हुन् ।

गत वर्ष तिहारको समयमा फूलमात्रै १३ लाखको बिक्री भएको दशरथले बताए । तिहारभन्दा पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पोर्ट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले जानकारी दिए । यसपालि एकै याममा १५ देखि २० लाख आम्दानी गर्ने उनीहरुको लक्ष्य छ ।

गत वर्ष कर्मा ५५५ जातको सयपत्री फूलखेती गरेका उनीहरुले यसपालि ‘कर्मा त्रिपल एक ओरेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपेका छन् । एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखेको दशरथले बताए । सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए ।


रवि धिताल