साल्ट ट्रेडिङले मनायो स्थापना दिवस, तोरीको तेल उत्पादन गर्ने कारखाना खोल्ने आश्वासन सधैं



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६१औं स्थापना दिवस मनाएको छ । कर्पोरेसनले कालिमाटीस्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार एक समारोह आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेसनले उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिएर सेवा सुरु गरेको ६० वर्ष पूरा भएको बताइन् ।

उनले कर्पोरेसनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य तथा अत्यावश्यकीय वस्तुहरुको बिक्री-वितरण तथा अनुदानित र गैरअनुदानित मलको आपूर्ति गर्दै आईरहेको प्रसंग उल्लेख गर्दै निकट भविष्यमा आफ्नै कारखानाबाट तोरीको तेल उत्पादन गर्न गइरहेको जानकारी दिइन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पोरेसनले सरकारको चाहनाअनुरुप आमउपभोक्ताको हितमा कार्य गर्दै आएको उल्लेख गरे । कर्पोरेसनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको उनको भनाइ छ ।

उनले सरकारले आवश्यकताअनुसार गरेको निर्देशन पालनामा कर्पोरेसनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै बजार अनुगमनका साथै बजार हस्तक्षेपमार्फत बजारलाई व्यवस्थित तुल्याउने सरकारको नीतिअनुरुप कर्पोरेसनसँग सहकार्य गर्दै आएको बताए ।

कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले कर्पोरेसनले समयमै रासायनिक मल आपूर्ति तथा वितरण गर्नुका साथै उदपादकत्व वृद्धिमा समेत योगदान पुर्‍याउदै आएको चर्चा गरे ।


क्लिकमान्डु