प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई भने- जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुहोस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए ।
रिपोर्ड कार्डको प्रस्तुतिपछि प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । ‘हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ, जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन, जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्छ,’ उनले भने ।
नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात हुने राम्रो कुरा भएको उनको भनाइ छ । तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहनत गर्नुपर्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख छ । रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालयहरू आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका काम र त्यसको प्रगति विवरण उल्लेख गरिएको छ ।