आयोग उपाध्यक्ष श्रेष्ठ र अस्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेटवार्ता



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको छ । राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता र पछाडि परेका वर्गहरुको उत्थानका साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि अस्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने जानकारी गराइन् ।

नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाका लागि पनि अस्ट्रेलियाले काम गरिरहेको उनले बताइन् ।

उपाध्यक्ष श्रेष्ठले अस्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरे ।


क्लिकमान्डु