भारतबाट दाना आयात गरेर बेच्ने बालाजी इन्टरप्राइजेजको व्यापार १ अर्बले बढ्यो



काठमाडौं । भारतबाट विभिन्न किमिसका खाद्यान्न, गेडागुडी तथा जनावर दाना आयात गरेर नेपालमा बेच्ने बालाजी इन्टरप्राइजेज प्रालिको व्यापारमा वृद्धि भएको छ ।

उक्त कम्पनीको व्यापार सन् २०२१ को तुलनामा २०२२ मा १ अर्बभन्दा धेरैले बढेको हो । सो कम्पनीले २०२२ मा ४ अर्ब ८० करोडको व्यापार गरेको छ ।

सन् २०१९ मा १ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको २०२० को व्यापारमा उच्च वृद्धि भएको थियो । सन् २०२० मा कम्पनीले ४ अर्ब १९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२१ मा भने व्यापारमा केही कमी आएर ३ अर्ब ७५ करोड मात्र भएको थियो ।

सन् २०२१ को व्यापारको तुलनामा १ अर्ब ५ करोडले वृद्धि भएर सन् २०२२ मा ४ अर्ब ८० करोडको व्यापार बालाजी इन्टरप्राइजेजले गरेको छ । सन् २०२३ को पहिलो ९ महिनामा भने कम्पनीको व्यापार ३ अर्ब २० लाख रुपैयाँको भएको छ ।

सन् २०१५ मा सुरु भएको बालाजी इन्टरप्राइजेज विभिन्न किसिमका खाद्यान्न, गेडागुडी तथा जनावरका दानाहरुको भारतबाट आयात गर्ने र नेपालमा बिक्री गर्ने कम्पनी हो । वीरगन्जमा मुख्य कार्यालय रहेको कम्पनीले धेरै सामग्री भारतबाट नै आयात गर्ने गर्छ भने कतिपय नेपाली किसानबाट पनि खरिद गर्छ ।

अप्रशोधित खाद्यान्न तथा गेडागुडी नेपालका मिललाई बिक्री गरेर प्रशोधन गरी खुद्रा रुपमा बिक्री भर्ने गरेको छ भने जनावरका दाना पशुपालनको क्षेत्रमा रहेका कृषक तथा कम्पनीलाई बिक्री गर्ने गरेको छ । बालाजी इन्टरप्राइजेजको पूर्ण स्वामित्व बबिताकुमारी सिस्का (अग्रवाल)सँग रहेको छ भने कम्पनीका कार्यकारी निर्देशक मुकेशकुमार अग्रवाल हुन् ।

हाल कम्पनीले ७७ करोड ४२ लाख रुपैयाँ कर्जा लिनका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बालाजी इन्टरप्राइजेजलाई ७ करोड ४३ लाख रुपैयाँको कोषमा आधारित दीर्घकालीन कर्जा सुविधाका लागि एल बिबि माइनस रेटिङ दिएको छ ।

त्यस्तै, ५ करोडको कोषमा आधारित अल्पकालीन कर्जा सुविधा र ६५ करोड रुपैयाँको कोषमा आधारित नरहेको कर्जा सुविधाका लागि कम्पनीलाई ए फोन रेटिङ इक्राले दिएको छ ।


क्लिकमान्डु