विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान



रुकुम पश्चिम । रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउने-जाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो ।

‘कतिखेर बत्ती जान्छ टुङ्गो हुँदैन । आउने-जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ,’ स्थानीय गणेश केसीले भने, ‘कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउँदैन ।’

बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको बिजुलीका सामान व्यापारीको गुनासो छ । ‘विद्युतबाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ,’ व्यापारी प्रेम खत्रीले भने ।

आउने-जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत् नहुँदा सेवा दिन मुस्किल भएको छ ।

रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत् पनि सवस्टेसनमै जोडिएको छ ।

३३/११ केभी र तीन एमभीए क्षमताको विद्युत् सबस्टेसन तयार भएपछि जिल्लामा विद्युत् अनियमितको समस्या कम हुन्छ भन्ने आशमा रहेका उपभोक्ता आउने-जाने विद्युतका कारण हैरान भएका हुन् ।

धैरेनीचौरमा सबस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत् आपूर्ति भने नियमित छैन ।

तेत्तीस केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ । ‘यो बत्ती आउने र जाने भइरहने स्थानीय स्तरको समस्या होइन । जिल्लामा विद्युत लाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेका छौँ,’ केन्द्र प्रमुख शिवजीप्रसाद साहले भने ।

हापुरे सबस्टेसन र कुदु सबस्टेसनबाट नै बेला–बेलामा लाइन जाने गरेको उनको भनाइ छ । आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत् आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताए ।


रवि धिताल