काठमाडौं महानगरले ठाउँ-ठाउँमा बनाउँदै फाल्चासहितको विश्रामस्थल, मीनभवनमा हुँदै छ तयार



काठमाडौं । तीनकुनेस्थित शान्तिनगर क्षेत्रमा अहिले फाल्चा शैलीमा विश्रामस्थल बनिरहेको छ । काठमाडौं महानगरपालिकालको वडा नम्बर ३१ ले आफ्नो योजनाअन्तर्गत रहेर यसको निर्माण गरिरहेको हो ।

काठमाडौं महानगरपालिकामार्फत विभिन्न ठाउँमा यस्ता फाल्चा शैलीका विश्रामस्थलहरु निर्माण हुने भएका छन् । महानगरपालिकाको वडा नम्बर ३१ ले यसको सुरुवात गरेको छ भने महानगरपालिकाको संस्कृति तथा पर्यटन विभागले पनि यस्ता फाल्चाहरु तयार गर्ने योजनामा काम गरिरहेको छ ।

वडा नम्बर ३१ का वडाअध्यक्ष सरोज ढकालका अनुसार वडाको १० लाख बजेटभन्दा कममा पर्ने योजनाअन्तर्गतकै योजनाका रुपमा हाल मिनभवनमा फाल्चा शैलीको विश्राम स्थालको निर्माण भइरहेको हो ।

उनले भने, ‘अहिले बनिरहेको छ । बन्ने चरणमा नै छ । हामीले यो आर्थिक वर्षमा के के बनाउँछौं भनेर तयार गरेको योजना अन्तर्गतकै काम हो । आव २०७९/०८० को योजनामा यसलाई राखेका थियौं । अनिले निर्माण गरिरहेका छौं ।’

आफ्नो वडाले हालका लागि एउटा बनाएर उदाहरणका रुपमा हेरेको र अन्य पाँच ठाउँमा पनि बनाउने तयारी रहेको ढकालले बताए । देशको परम्परा र कलासंस्कृति झल्किने गरि फाल्चासहितको विश्रामस्थल बनाउन खोजिएको उनले जानकारी दिए ।

‘अहिले यो एउटा तयार गरेर उदाहरणका लागि हेरिरहेका छौं,’ उनले भने, ‘यसलाई अब अन्य चार-पाँच ठाउँमा बनाउने योजना तयार गरेका छौं । शान्तिनगर, शंखमुल र अन्य ठाउँमा पनि यसलाई बनाउने सोचेका छौं ।’

विश्रामस्थल निर्माण भइरहेको ठाउँ नजिकै बसपार्क पनि भएकाले यहाँ जेष्ठ नागरिक, गर्भवति महिलाहरुलगायतका लागि पनि सहायता हुन्छ भन्ने उद्देश्यले यसलाई तयार गरिएको ढकालले बताए ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले पनि कलासंस्कृतिको प्रवद्र्धन गर्ने हेतुले यस्ता फाल्चा शैलीसहितका विश्रामस्थलहरुको निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरिरहेको छ । अनुमानित लागत ४५ लाख रुपैयाँ राख्दै विभागले विभिन्न ९ ठाउँमा यस्ता विश्रामस्थलहरुको निर्माण गर्ने योजना ल्याएको विभागकी प्रमुख अर्चना श्रेष्ठ (शाक्य)ले बताइन् ।

‘यसपालि महानगरपालिकाबाट पनि फाल्चा शैलीको विश्रामस्थल निर्माण गर्ने योजना छ,’ उनले भनिन्,  ‘महानगरबाट एकै पटक ठेक्का आह्वान गरेर काम सुरु गर्ने प्रक्रियामा छौं । विभागबाट ९ ठाउँहरुमा बनाउने भन्ने योजना रहेको छ । ४५ लाखसम्मको लागत आउँछ भन्ने अनुमान गरेका छौं । हाललाई योजना बनाएर तयारी गरिरहेका छौं । छिट्टै नै यसका लागि ठेक्का खुलाइन्छ ।’


रवि धिताल