भन्सार छली ल्याएको सुनसहित त्रिवि विमानस्थलबाट ३ जना पक्राउ



काठमाडौं । भन्सार छलेर लुकाएर ल्याइएको ९  सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको प्रकरणमा प्रहरीले बुधबार ३ जनालाई पक्राउ गरेको छ । उक्त घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेस्थित खानीखोला गाउँपालिका ३ घर भई पनौती नगरपालिका ५ बसने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका ३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई पक्राउ गरिएको केन्द्रिय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिर्देशक कुँवेर कडायतले बताए ।

कडायतका अनुसार हिमालयन एयरलाइन्सद्वारा दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलेर अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौँ महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा सुनसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका बाबुलाललाई सोधपुछ गर्ने क्रममा लामा, दोर्जे स्यान्तानलाई काठमाडौँ महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बर भएको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।


रवि धिताल