६० किलो सुन तस्करी प्रकरण: ३ अर्ब ५० करोड मागदाबी, ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राय दिएको छ ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार हालसम्म ३२ जना पक्राउ परेका छन् । तीमध्ये २३ नेपाली र ९ विदेशी छन् । अझै १८ जना फरार छन् । उनका अनुसार १४ विदेशी र ४ जना नेपाली रहेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख बज्राचार्यले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९२ अनुसार पनि उनीहरुलाई कारबाही हुने जानकारी दिइन् ।

साउन २ गते राति त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवस्थामा सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । विभागले १८ दिन अनुसन्धान गरेपछि सम्पूर्ण कागजात र पक्राउ परेका व्यक्तिसहित सीआईबीलाई अनुसन्धान जिम्मा लगाएको थियो । सीआईबीले साउन २२ बाट अनुसन्धान थालेको हो ।

सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालेको थियो ।

प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म अनुसन्धान गरेको बज्राचार्यले जानकारी दिइन् । पहिलो प्राविधिक टिममा ४२ जना रहेको र त्यसले दैनिक १८ घन्टा काम गरेको उनले बताइन् । अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको उनको भनाइ छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

सीआईबीले यसअघि यही समूहले ३०२ किलो सुन भित्र्याइसकेको दाबी पनि गरेको छ ।


रवि धिताल