विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता, गुठीमा जाने विषय ऐच्छिक



काठमाडौं । प्रतिनिधि सभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बुधबार संसदमा विधेयक दर्ता गरेको हो ।

विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भएपछि  निजी स्कुल सञ्चालकले विरोध गरेका थिए । सञ्चालकहरुको विरोधपछि सरकारले ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो ।

विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।

हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकको मागलाई पनि विधेयकले समेटेको छ । राहतमा अध्यापन गराइरहेका शिक्षकले आन्तरिक परीक्षा दिन पाउनेछन् भने पास हुन नसके सरकारले निश्चित रकम दिएर बिदाइ गर्नेछ ।


रवि धिताल