नाडा अटो सो: गाडी किन्न कुन बैंकको कर्जा सस्तो ?



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि गाडीको कुम्भ मेला सुरु भएको छ । गाडी पारखीहरुका लागि एउटै छानामुनि विभिन्न ब्रान्ड र विभिन्न मूल्यका आफूलाई अनुकूल हुने गाडी छान्ने राम्रो विकल्प हो यो ।

जहाँ १४ लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने गाडी हेर्न, छनोट गर्न र मन परेको खण्डमा बुकिङ गर्न सकिन्छ । गाडी किन्दै गर्दा हरेक व्यक्तिसँग एकै पटक तिर्न पुग्ने पैसा नहुन सक्छ ।

त्यसका लागि कर्जा लिने सजिलो माध्यम भनेको बैंक तथा वित्तीय संस्था नै हुन् । गाडीको कुम्भ मेलामा गाडी बुकिङ खरिदसँगै बैंकबाट कर्जा लिनेहरुका लागि पनि सहजै सेवा दिन भनेर बैंकहरुले नाडा अटो सो मा स्टल राखेका छन् ।

उनीहरुले आफ्नो बैंकले गाडी कर्जा दिँदा के-कस्ता सुविधा दिने गरेको छ भने जानकारी गराउने गरेका छन् । केही बैंकहरुले नाडा अटो सो का लागि भनेर पनि खास अफरसमेत ल्याएका छन् । बैंकहरुले इन्धनबाट चल्ने गाडी र बिजुलीबाट चल्ने गाडीलाई दिने कर्जाको ब्याजदरसमेत फरक-फरक पारेका छन् ।

गाडी किन्दा कुन बैंकले कतिमा दिन्छन् कर्जा ?

सानिमा बैंक

गाडी किन्दा सानिमा बैंकले ७ वर्षसम्मका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले कर्जा दिँदा सेवा शुल्क भने ०.५० प्रतिशत लाग्ने जनाएको छ । ‘चाडपर्वको आगमनसँगै सानिमाको सस्तो अनि स्थिर ब्याजदर योजना’ भनेर बैंकले आफर नै ल्याएको छ । यो योजना सीमित अवधिका लागि मात्रै लागू हुने बैंकले जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले इलेक्ट्रिक गाडीको खरिदका लागि नाडा अटो सो मा आकर्षक लोन अफर ल्याएको छ । बैंकले आकर्षक ब्याजदरमा ५ वर्ष र १० वर्षका लागि कर्जा दिने योजना ल्याएको छ ।

विद्युतीय गाडी खरिद गर्नेले ५ देखि १० वर्षका लागि कर्जा लिँदा १०.४९ प्रतिशत र ७ देखि १० वर्ष अवधिका लागि कर्जा लिँदा १०.९९ प्रतिशत ब्याज लाग्ने जनाएको छ । बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने र क्रेडिट कार्ड २ लाख सम्मको दिने जनाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले नाडा अटो सो का लागि भनेर नै स्पेसल अफर ल्याएको छ । बैंकले निजी र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने गाडीमा फरक-फरक दरमा कर्जा दिने जनाएको छ ।

व्यक्तिगत रुपमा कसैले विद्युतीय गाडी किन्न खोजेको खण्डमा १०.४९ प्रतिशत ब्याज लाग्नेछ । यसका बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ । व्यक्तिगत रुपमा इन्धनबाट चल्ने गाडी किन्दा १०.९९ प्रतिशत ब्याज लाग्नेछ । यसको सेवाशुल्क ०.७५ प्रतिशत छ ।

बैंकबाट व्यावसायिक प्रयोजनका लागि कर्जा लिँदा विद्युतीय गाडीमा ११.४९ प्रतिशत ब्याज लाग्नेछ भने ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । इन्धनबाट चल्ने गाडीका लागि १२.४९ प्रतिशत ब्याज लाग्नेछ । यसमा सेवाशुल्क ०.७५ प्रतिशत लाग्नेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले सवारी कर्जा योजना ल्याएको छ । सवारी साधन किन्दा ‘सवारी साधन कर्जा’ योजना ल्याएको छ । ८ वर्ष अवधिका लागि ल्याएको योजनामा मासिक किस्ताको आधारमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसमा सर्तहरु लागू हुने जनाएको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधनका लागि कर्जा सुविधा योजना ल्याएको छ । वार्षिक ११.९५ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिने जनाएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आकर्षक ब्याजदर योजना ल्याएको छ । बैंकले विद्युतीय गाडी र इन्धनबाट चल्ने गाडीका लागि छुट्टा छुट्टै अफर ल्याएको हो ।

विद्युतीय गाडीका लागि कर्जा लिँदा ३ देखि ५ वर्षका लागि कर्जा दिने जनाएको छ । कर्जा अधिकतम ३ करोडसम्म दिने जनाएको छ । यसमा सेवा शुल्क १ प्रतिशत लिने जनाएको छ । त्यसमा ०.२५ प्रतिशतसम्म छुट हुन सक्ने जनाएको छ ।

यता इन्धनबाट चल्ने गाडीमा ३ देखि ८ वर्षका लागि कर्जा दिने जनाएको छ । कर्जा अधिकतम ३ करोडसम्म दिने जनाएको छ । यसमा सेवा शुल्क १ प्रतिशत लिने जनाएको छ । त्यसमा ०.२५ प्रतिशतसम्म छुट हुन सक्ने जनाएको छ ।


रवि धिताल