पहिरोले आदिबराह ताल बगरमा परिणत



पर्वत । पर्वतको जलजला गाउँपालिका-२ को पूर्णगाउँमा रहेको आदिबराह ताल पहिरोका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका-५ कुवापानीको पहाडबाट झरेको पहिरोले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल छन् । पहिरोले तालमात्र नभई त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ ।

स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो । स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो ।

यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । ‘यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्छन् । बराह देवता रहेको तालमा टाढा-टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो,’ घर्तीले भने ।

कुवापानी पहाडबाट गत साउन ६ देखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले बताए ।

प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्छ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्थ्यो । गत भदौ १४ गतेको जनैपूर्णिमाका दिन मन्दिर वरपर रहेको केही मात्रामा हिलो पन्छाएर पूजा गरिएको जिसीले बताए ।

स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदो माटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन ।

गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल ५० लाख रुपैयाँ माग गरेको अध्यक्ष घर्तीले बताए । रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम सुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ ।

तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर गत वर्षमात्रै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । ताल संरक्षणका लागि विभिन्न काम गरिएको भए पनि पहिरोले सबै ध्वस्त बनाएको अध्यक्ष घर्तीले बताए । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको थियो ।

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्थ्यो । यहाँ पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताए ।

‘छेउमै रहेको ढुङ्गेधारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्,’ उनले भने, ‘तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ ।’ बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्छ ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रुख यहाँको अर्को आकर्षण हो । सोही रुखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ ।

ताल संरक्षण र प्रवर्धनका लागि स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिरोले पुरिएर समस्या परेको स्थानीय लालबहादुर अधिकारीले बताए ।

कुवापानीको पहाड नै चर्किएर झरेको पहिराले सात घर विस्थापित बनेका छन् भने यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारीसमेत बगरमा परिणत भएको छ ।

पहिरोको केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । तर प्रतिवेदन आउन भने बाँकी छ ।


रवि धिताल