एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा विस्तार



काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्चगतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला)मा एक-एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भी-स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं । यो एउटा कोसेढुंगा हो किनभने पछिल्लो विस्तारपश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्‍याउनेछ ।’

एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । कम्पनीले मनाङलाई पनि छिट्टै फोरजीले जोड्ने योजनासहित काम गरिरहेको छ ।

फोरजीले प्रयोगकर्ताहरूलाई हाई-डेफिनिसन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइल तत्काल आदानप्रदानलगायत विभिन्न डिजिटल सेवा लिन सक्षम बनाउँछ । देशभर एनसेलका ४ हजार १०० भन्दा बढी फोरजी बीटीएस सञ्चालनमा छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झन्डै १ हजार ४५० टावरमा फोरजी क्षमता स्तरोन्नति गरेको छ ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धताबमोजिम ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो ।


रवि धिताल