साइबेरियाको मैदानमा रुसी विमान आकस्मिक अवतरण, १६७ जनाको जीवन जोगियो



एजेन्सी । दक्षिणी रुसको पर्यटकीय सहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका ६ सदस्यसहित एक सय ६७ यात्रु बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरेको छ ।

रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जंगलनजिक अवस्थित एक मैदानमा उरल एयरलाइन्सको एयरबस ३२० विमानलाई चालक दलका सदस्यले आपतकालीन अवतरण गरेका जनाउका हुन् । विमानमा रहेका सबै यात्रु सकुशल रहेका बताएका छन् ।

‘सोची-ओम्स्क‘रुट’मा उडिरहेको उराल एयरलाइन्सको एयसबस ३२० विमानको आपतकालीन अवतरण भएको हो । सबै यात्रुलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन,’ मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ ।

रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लंघन गरेकोमा उरल एयरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको स्थानको प्रारम्भिक अनुसन्धान थालिसकेका छन् ।

विमान कम्पनी उरल एयरलाइन्सले भने प्राविधिक समस्याका कारण आपतकालीन अवतरण गरेको बताएको छ । उरल एयरलाइन्स येकातेरिनबर्ग सहरमा प्रधान कार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो ।

युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएको कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयन ठूलो समस्या झेलिरहेको छ ।


रवि धिताल