पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौंको लगानी



बाँके । ‘अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ’ यो भनाइ हो नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो निवासी जेडी कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको ।

सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचले रिचाले गत वर्ष पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन् । तत्कालीन समयमा पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म फाइदा भयो ।

‘सुरुमा सानो पुँजीमा पाँचवटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो,’ उनले भनिन्, ‘एउटा गहनाबाट त्यतिखेर दुई सय ५० जति नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ ।’

दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक ३५ हजार रुपैयाँ थियो । तर उनी त्यो कामबाट सन्तुष्ट भइनन् ।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन् । जुन नेपालगन्जमा एकदमै नयाँ थियो ।

‘अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैं लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगन्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ,’ उनले भनिन्, ‘यो व्यवसायका बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरें र आफ्नै घरबाट यसको सुरुवात गरें ।’

उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत  गरिरहेकी छन् । उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन् 

रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ । ‘अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु,’ उनले भनिन्, ‘टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।’

हाल उनी मासिक १० लाखको कारोबार गछिन् । जसबाट एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ । ‘घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नु पर्दैन,’ उनी भन्छिन्, ‘बिहानैदेखि रातिसम्म घरमा सामान किन्न आउनेको घुइँचो लाग्छ ।’

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ । महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी संघ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो ।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी संघको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्‍यायो । उक्त मेलामा रिचाले ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरिन् ।

‘त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो,’ उनले भनिन् ।

दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राखेकी हुन् । रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन् ।


रवि धिताल