अर्थतन्त्र सुध्रिन थाल्यो अब गाडीको व्यापार बढ्छ, डिलर धेरै भए मर्ज गर्नुस्: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आउन थालेकाले अब गाडीको व्यापार बढ्ने बताएका छन् ।

राजधानीमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा अर्थमन्त्रीले भने, ‘अर्थतन्त्रका समस्या अब चाँडै हल हुन्छन्, आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधार देखिएको छ, विदेशी विनिमय सञ्चिति बढेको छ, विदेशी पर्यटक बढ्न थालेका छन्, जग्गा कित्ताकाट खुलेको छ, अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन्, अब गाडीको व्यापार बढ्छ ।’

नेपालमा गाडी डिलर धेरै भएको उनले टिप्पणी गरे । ‘हरेक गल्लीमा २-३ वटा डिलर हुँदा लागत बढेको छ, मर्ज गर्न आवश्यक छ,’ अर्थमन्त्रीले भने ।

नेपालमा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाले गाडीको पनि एसेम्ब्लिङ सुरु गर्न व्यवसायीलाई उनले आग्रह गरे । ‘नाडा अब डिलर एसोसिएसनभन्दा पनि उत्पादन एसोसिएसन बन्नुपर्छ,’ महतले भने, ‘एसेम्ब्लिङ सुरु गर्नुस्, सरकारले सहुलियत पनि दिन्छ ।’

अहिले पैसा नघुमेर अर्थतन्त्र चलायमान नभएको अर्थमन्त्री महतको बुझाइ छ । ‘अहिले ऋणी ऋण लिन नचाहने तर बैंकहरु कर्जा दिन चाहने स्थिति छ, यसमा सुधार जरुरी छ,’ उनले भने ।

अहिले एउटा जग्गा चाहिनेले पनि १० वटा जग्गा किनेर राख्ने प्रवृत्तिले समस्या देखिएको महतले बताए । ‘सेयर बजारमा पनि यस्तै समस्या देखिएको छ,’ उनले भने, ‘सरकारले यी सबै समस्या समाधान गर्दै जान्छ ।’

पहिला गाडी लक्जरीको साधन भएकाले कर धेरै लगाएको र यसले कर बढी आएको भएर दर नघटेको हुन सक्ने उनको भनाइ छ । ‘अब ईभीमा जाने भएपछि विद्युत खपत बढ्छ, इन्धन आयात घट्छ,’ अर्थमन्त्री महतले भने, ‘अब ईभीलाई प्राथमिकता दिनुपर्छ ।’


रवि धिताल