सरकारले निजी क्षेत्रका सुझावलाई बेवास्ता गर्‍यो: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझाव सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।

राजधानीमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा अध्यक्ष ढकालले निजी क्षेत्रबाट सुझाव दिने काम मात्रै भइरहेको बताएका हुन् । ‘निजी क्षेत्रले दिएको सुझाव देशको अर्थतन्त्रको सुधारका लागि हो,’ उनले भने, ‘तर कार्यान्वयन भएन ।’

देश विकास हुने आधार निजी क्षेत्र भएको उनको भनाइ छ । राजस्व संकलन गर्ने अटो क्षेत्र खुम्चिँदा राज्यको कर पनि घटेको ढकालले बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र उकास्न उद्योगी व्यवसायीको घटेको मनोबल बढाउन आवश्यक रहेको बताए । ‘त्यसका लागि बजारमा वस्तुको माग बढ्नुपर्छ,’ उनले भने ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चालु पुँजी कर्जा नीति खुकुलो भए पनि अन्य विभिन्न निर्देशिकाले दु:ख दिएको बताए । राज्यका निकायले समयमै काम नगर्दा उद्योगी व्यवसायीले दु:ख पाइरहेको उनले जानकारी गराए ।


रवि धिताल