अटोमोबाइल विलासी क्षेत्र होइन, विलासी भनेर ६ ठाउँमा कर तिराइएको छ: अध्यक्ष थापा



काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाका अध्यक्ष ध्रुव थापाले कोरोनायता रोकिएको अटो सो को १५औं संस्करण सुरु भएको बताएका छन् ।

अटो मोबाइल व्यवसाय उद्योगमा परिणत भएको बताउँदै उनले २१ प्रतिशत भन्सार राजस्वमा योगदान रहेको जानकारी गराए । ‘निर्जीवन बिमामा यो क्षेत्रको योगदान ४५ प्रतिशत  छ,’ उनले भने ।

अटो व्यवसाय पारदर्शी पनि रहेको उनले दाबी गरे । अध्यक्ष थापाले सरकारले आर्थिक ऐनबाट दिँदै आएको सहुलियत ऐनमा नै समावेश गर्न आग्रह गरे ।

अटोमोबाइल क्षेत्र विलासी क्षेत्र नभएको उनको भनाइ छ । ‘विलासी भनेर धेरै कर लिइएको छ । ६ निकायमा कर तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तर यो विलासी क्षेत्र होइन ।’

भारत र चीनको तुलनामा ३ गुणा बढी लागत रहेको तथ्य प्रस्तुत गर्दै उनले व्यवसायमैत्री कानुन नहुँदा भने समस्या भएको बताए ।

प्रधिकरणले ५२ वटा चार्जिङ स्टेसन बनाए पनि पर्याप्त नभएको उनले स्पष्ट पारे । विद्युतीय सवारी साधन उत्पादन तथा आयातका लागि सरकारले तत्काल कानुन बनाउनुपर्ने उनको माग छ ।

अध्यक्ष थापाले राष्ट्र बैंकको नीतिप्रति रोष प्रकट गरे । राष्ट्र बैंकले लिने विभिन्न नीतिले सरकारले पाउने कर घटेको उनको तर्क छ । ‘अटो व्यवसायमा दिइएको ऋण पुनर्तालिकीकरण गर्न जरुरी छ,’ उनले भने ।

उनले प्रदर्शनीस्थल नभएर ठुला सवारी साधन ल्याउन नसकेको गुनासो पनि गरे । अघिल्लो आवको बजेटमा प्रदर्शनीस्थल निर्माणबारे समावेश भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।


रवि धिताल