कलर्स र नोकियाको फोन बेच्ने टेलिटकको व्यापार ३३ प्रतिशतले घट्यो



काठमाडौं । नेपाली बजारमा नोकिया र कलर्स ब्रान्डको मोबाइल फोन बेच्ने कम्पनी टेलिटक प्रालिको व्यापार घटेको छ ।

सन् २०२१ को तुलनामा २०२२ मा कम्पनीको व्यापार करिब ७० करोडले कम भएको हो । २०२० मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको २०२१ को व्यापारमा उच्च वृद्धि देखिएको थियो । स्न् २०२१ मा कम्पनीले २ अर्ब ११ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२२ मा भने कम्पनीको व्यापारमा अघिल्लो वर्षको तुलनामा करिब ७० करोडको गिरावट आएर १ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार भएको छ ।

सन् २००८ मा सुरु भएको यो कम्पनीले नेपाली बजारमा नोकिया र कलर्स ब्रान्डका फोन बिक्री गर्छ । सँगै हालसालै कम्पनीले भारतीय कम्पनी बोटका उत्पादन पनि नेपाली बजारमा भित्र्याएको छ । कम्पनीमा रमेश कर्पोरेसनसँग सम्बन्धित रोहित गुप्ता, प्रतीक जल र सञ्जय अग्रवाल प्रवर्धक छन् ।

कम्पनीको व्यापारमा कमी आएको भए पनि मार्जिनमा भने वृद्धि भएको छ । सन् २०२२ मा ४.५३ प्रतिशत रहेको कम्पनीको मार्जिन २०२२ मा वृद्धि भएर ५.९५ प्रतिशत पुगेको छ ।

हालका लागि यो कम्पनीले ८९ करोड ३० लाख रुपैयाँको कर्जा लिनका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीलाई ३१ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बि र ५७ करोड ८० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ प्रदान गरेको छ ।


रवि धिताल