निभ्या र स्ट्रिक्सको सामान बेच्ने एसियन डिस्टिब्युटर्सको व्यापारमा वृद्धि



काठमाडौं । ‘एफएमसीजी’ उत्पादनहरुको आयात तथा बिक्री गर्ने एसियन डिस्टिब्युटर्स प्रालिको व्यापारमा वृद्धि भएको छ ।

निभ्या, स्ट्रिक्स, म्याकभिटिस (बिस्कुट र चकलेट), भ्यासमोल, ग्लुकोन-डि, कम्प्लान, सुगर फ्रि गोल्डजस्ता विदेशी ब्रान्डका सामान नेपालमा बिक्री गर्ने कम्पनीको व्यापार सन् २०२२ मा १ अर्ब ४९ करोड २ लाख रुपैयाँको भएको हो ।

एसियन डिस्टिब्युटर्सको व्यापार सन् २०२० मा केही कम भएको थियो । त्यसपछि भने कम्पनीको व्यापार निरन्तर उकालो लागेको छ । सन् २०१९ मा कम्पनीले १ अर्ब २१ करोड ३ लाखको व्यापार गरेको थियो । २०२० मा व्यापारमा गिरावट आउँदै १ अर्ब २ करोड ६७ लाखको व्यापार भएको थियो । २०२१ मा भने कम्पनीले १ अर्ब २१ करोड ६९ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ को पहिलो ९ महिनामा कम्पनीको व्यापार १ अर्ब १ करोड ३१ लाख रुपैयाँको भएको छ ।

सन् २०२१ मा सुरु भएको यो कम्पनीले नेपाली बजारमा विभिन्न विदेशी ब्रान्डका सामग्रीको आयात तथा बिक्री गर्दै आएको छ । हाल नेपालभरमा कम्पनीका २५० वितरण केन्द्र (डिलर) छन् ।

मुख्य कार्यालय नक्सालमा रहेको कम्पनीमा आशिषकुमार अग्रवाल, कविता अग्रवाल, विशाल अग्रवाललगायतको लगानी छ । विशाल ग्रुपकै एक अंशको रुपमा यो कम्पनी रहेको छ ।

सन् २०२३ मा भने आर्थिक क्रियाकलापमा आएको कमी तथा मन्दी र बैंकिङ क्षेत्रमा भएको ‘क्रेडिट क्रन्च’का कारण कम्पनीको ऋणमा वृद्धि भएको छ । हालका लागि कम्पनीले ८१ करोड ४० लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई १ करोड ३७ लाख रुपैयाँको कोषमा आधारित दीर्घकालीन कर्जा सुविधाका लागि ‘एल त्रिपल बि माइनस’ रेटिङ दिएको छ । त्यस्तै, ४८ करोड रुपैयाँको कोषमा आधारित अल्पकालीन कर्जा सुविधा र ३२ करोड ३ लाख रुपैयाँको कोषमा आधारित नरहेको अल्पकालीन कर्जा सुविधाका लागि ’ए थ्रि’ रेटिङ कम्पनीले पाएको छ ।


रवि धिताल