सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ देखि सञ्चालनमा आउने



काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ देखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

‘द्रुत बस सेवा’का विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक र यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग हिजो छलफल गरेका थिए ।

‘छलफलपछि असोज ३ मा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय भएको हो,’ मन्त्री ज्वालाले भने ।

‘द्रुत बस सेवा’ असोज १ देखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन् ।

‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको सडक विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका थिए ।

‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो भदौ २६ देखि सुरु गर्छौं,’ उनले भने ।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क गर्नेछ । रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्मका लागि छुट्टाछुट्टै टोली बनाएर एकैदिन काम हुनेछ ।

यातायात व्यवस्था विभागले भने आफ्नो काम सकिसकेको जानकारी मन्त्री ज्वालालाई दिएको थियो । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका थिए ।

‘व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन्,’ उनले भने ।


रवि धिताल