चोभारदेखि पाटनसम्म १३२ केभीको भूमिगत विद्युत प्रसारण लाइन बन्दै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चोभारदेखि पाटनसम्म १३२ केभीको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

विद्युत विकास विभागका अनुसार प्राधिकरणले कीर्तिपुर नगरपालिका-६ मा प्रस्तावित चोभार सबस्टेसनदेखि जलविनायक मार्ग बागमती पुल हुँदै ललितपुर महानगरपालिकाको प्रस्तावित पाटन सबस्टेसनसम्म भूमिगत प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्रको दरखास्त आवेदन दिएको हो ।

डबल सर्किट रहने प्रसारण लाइनमा ३ सय मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सकिने विभागले जनाएको छ । ४.५ किमी लामो प्रसाण लाइनमा ज्वाइन्ट्स पिट संख्या ९ (प्रतिसर्किट) हुनेछ । केवल ज्वाइन्ट्स पिटबीचको दूरी ५ सय मिटर हुने र ज्वाइन्ट्स पिट १२ मिटर लम्बाइ र २ मिटर गहिराइ हुनेछ ।

प्रसारण लाइन निर्माण भूमिगत हुने भएकाले राइट अफ वे आवश्यक नरहेको र आयोजनाका सबस्टेसनहरु निर्माण गर्नका लागि भने २.१५१७ हेक्टर जग्गा स्थायी तथा अस्थायी रुपमा आवश्यक पर्ने विभागले जनाएको छ । यो प्रसारणको निर्माण कार्य सुरु भएको २ वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ ।


रवि धिताल