सोलुखुम्बुमा ३३ केभीको प्रसारण लाइन बन्दै



काठमाडौं । कोशी प्रदेशको सोलुखुम्बुमा जनबेसी जलविद्युत आयोजनाको ३३ किलोभोल्ट क्षमताको प्रसारण लाइन बन्ने भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर २ स्थित निर्माणाधीन जुनबेसी खोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही नगरपालिकाको वडा नम्बर ३ स्थित सोलु खोला जलविद्युत आयोजनाको स्वीचयार्डसम्म यो प्रसारण लाइन बन्ने भएको हो ।

विद्युत विकास विभागका अनुसार यो प्रसारण लाइन निर्माणका लागि दोभान हाइड्रोपावर लिमिटेडले अनुमति पत्रका लागि दरखास्त आवेदन दिएको हो । प्रसारण लाइन निर्माणाधीन जुनबेसी खोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि वेनी हाइड्रोपावर प्रोजेक्ट प्रालिबाट प्रवर्धित माथिल्लो सोलु खोला जलविद्युत आयोजनाको स्विचयार्डसम्म हुनेछ ।

प्रसारण लाइनबाट ५.२ मेगावाट क्षमतासम्मको विद्युत शक्ति प्रसारण गर्न सकिने विभागले जनाएको छ । सिंगल सर्किटको प्रसारण लाइनलाई सोलु खोला जलविद्युत आयोजनासम्म निर्माण गरि उक्त आयोजनाको स्विचयार्डबाट हाल सञ्चालनमा रहेको १३२ केभीको प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको तिन्ला सबस्टेसनमा जोडिनेछ ।

६ किमी लामो प्रसारण लाइनमा १३० वटा पोल हुनेछन् । यसका लागि कुल ४.६७२ हेक्टर जमिन स्थायी तथा अस्थायी रुपमा आवश्यक पर्नेछ । प्रसारण लाइनको निर्माण कार्य सुरु भएको ८ महिनाभित्र सम्पन्न गरिनेछ ।


रवि धिताल