लर्ड बुद्धले मनायो रजत जयन्ती, जलान भन्छन्- युवालाई बिदेसिनबाट रोक्ने हाम्रो उद्देश्य हो



सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले प्राविधिक शिक्षामा दीर्घकालीन सोच बनाएको २५ वर्ष बितेको छ । सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्धले २५ औं रजत जयन्ती मनाएको हो ।

आईटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउन्डेसनबाट अहिलेसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । फाउन्डेसनले स्थापनाकालदेखि नै सबैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ ।

फाउन्डेसनले विगतमा १० हजार महिलालाई नि:शुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक-एक जना किशोरीलाई प्रत्येक वर्ष नि:शुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेसनले स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृतसमेत गर्दै लगेको जनाएको छ ।

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरेका छन् । ‘मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको छ र हाम्रो भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ । पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल पनि भएका छन्,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले खेलेको भूमिका अतुलनीय छ ।’

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान गरेको बताइन् ।

फाउन्डेसनका अध्यक्ष पंकज जलानले पढ्दै, पढाउँदै भन्ने सरकारको नीतिलाई व्यावहारिक कार्यान्वयन गर्न कलेज सफल भएको बताए । ‘नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवालाई बिदेसिनबाट रोक्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना दिएका थिए । फाउन्डेसनको रजत जयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफिक विश्वविद्यालयका प्रमुख दतुक परमजित सिंहले पनि सफलताको शुभकामना दिएका हुन् ।


रवि धिताल