गायिका आनी छोइङले बाल अस्पताललाई गरिन् १ करोड ८० लाख सहयोग



काठमाडौं । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनका तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

फाउन्डेसनका तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले १ करोड ८० लाख रुपैयाँको चेक प्रा. डा. कोइरालालाई प्रदान गरे । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरेँ, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ आनीले भनिन्, ‘सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।’ स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने उनको आशा छ ।

कार्यक्रममा डा. कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे जानकारी गराएका थिए । एक हजार बालबालिका जन्मिँदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेस गर्दै उनले भने, ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए ।’

परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । सेवा सुरु भएको चार महिनामै अस्पतालले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जानकारी दिए ।


रवि धिताल