गृहमन्त्रीसँग महासंघले भन्यो- सरकारले व्यवसायीको मनोबल बढाउन पहल गर्नुपर्छ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

सोमबार भएको भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुबैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उप प्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौ,’ उनले भने, ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उप प्रधान एवं गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताए । यसैगरि अध्यक्ष ढकालले सिमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे ।

महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरु सहभागि रहेको भेटवार्तामा गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको थियो । यसैगरि नयाँ बनेका पोखरा र गौतमवुद्ध विमानस्थल संचालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो ।

सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसँग छलफलको तयारी गरिरहेको बताए ।


क्लिकमान्डु