मिदास टेक्नोलोजीसँगको सहकार्यमा ‘नयाँ अस्पताल एप’ मार्फत कोशी अस्पताल सेवा सुरु



काठमाडौं । नेपालको प्रतिष्ठित अस्पतालमध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल  अस्पताल एप’ सञ्चालनमा ल्याएको छ ।

यो एपमार्फत बिरामीले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्नेछन् । बिरामीले ओपीडी टिकट बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्ट पनि एपबाटै प्राप्त गर्ने सक्नेछन् ।

यसैगरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्नेछन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने विश्वास लिइएको छ । यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्नेछ ।

दशकौँ लामो समयदेखि बिरामीलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एपमार्फत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।

आइएमई ग्रुपअन्तर्गतको मिदास टेक्नोलोजिज स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आबद्ध गर्ने अग्रणी सेवाप्रदायक संस्था हो ।  यसले २ सयभन्दा बढी अस्पताललाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु