‘निर्यात प्रवर्द्धन गर्न इमानदारीपूर्वक काम गर्न तयार छौँ’



ललितपुर । यूएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ललितपुरमा आयोजना गरेको अन्तर्क्रियामा उनीहरुले सम्बन्धित देशका व्यापार सम्बद्ध संघसंस्थासँग भेटघाट गरेर सहजीकरण गर्ने विश्वास दिलाए ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले व्यापार प्रवर्द्धनका लागि जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्ने बताए । ‘व्यापार तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरु पनि मिलेर काम गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ । जागरुकतालाई रचनात्मक बनाउनुपर्छ, विश्वमा अलैँची, अदुवा र चिराइतोमा नेपाल उत्कृष्ट छ, बंगलादेशमा नेपाली स्ट्राबेरीको बेग्लै बजार छ, नेपाली फुटवेरको राम्रो सम्भावना छ,’ उनले भने, ‘जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्छौँ ।’

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्ने र व्यापार प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताए । ‘श्रमसँग र व्यापारसँग सम्बन्धित काम हाम्रो प्राथमिकता हो । नेपालको उत्पादनलाई बिक्री गर्ने प्रमुख काम नै हो,’ उनले भने, ‘जुन अपेक्षा छ, ती पूरा हुन्छन्, राजदूतावासको रिसेप्सनमा नै नेपाली उत्पादन राखेर प्रवर्द्धन भइरहेको छ । त्यसलाई अझ प्रभावकाकरी बनाउँछौँ ।’

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको बढ्दो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती रहेको धारणा राखे । ‘हामीले दिने सेवामा पासपोर्ट, भिजालगायतका कन्सुलर सेवा त छँदै छ, त्यसबाहेक विभिन्न एक्स्पोमा स्टलहरु निःशुल्क गराउन पहल गर्नेछु । नेपालीलाई विदेशमा मेला पर्वहरु गर्न उत्साहित गर्छौँ, के बेच्न सकिन्छ भनेर लक्ष्य निर्धारण गर्न आग्रह गर्न चाहन्छु,’ उनले भने ।

निर्यात परिषद्का अध्यक्ष रेशम पोखरेलले यूएईका लागि कार्पेट निर्यात गर्न प्रचुर सम्भावना भएको बताउँदै प्रमाणीकरण र निर्यातका लागि दूतावासले पहल गरिदिनुपर्ने धारणा राखे ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकारले मेला आयोजना गर्न दिने बजेट कम भएको बताउँदै त्यहाँका संघसंस्था र आयोजकसँग सहुलियत स्टल उपलब्ध गराउन पहल गरिदिनुपर्नेमा जोड दिए । उनले राजदूतहरुले राष्ट्रप्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा हाम्रो देशको ब्रान्ड उत्पादन गिफ्टका रुपमा दिन सक्दा व्यापार प्रवर्द्धनमा राम्रो हुने  बताए ।


रवि धिताल