‘एशोसिएशनबाट व्यवसायीको हकहितमा काम हुन नसकेपछि पेट्रोलियम व्यवसायी संघ नेपाल गठन’
काठमाडौं । पेट्रोलियम व्यवसायी संघ नेपालले ‘नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन’ बाट व्यवसायीहरुको हकहितमा काम हुन नसकेपछि आफूहरुले नयाँ संस्था बनाएको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै संघले संस्थागत हित, पारदर्शिता, आफ्ना सदस्यहरुको संरक्षण र सम्बर्द्धनमा काम गर्न नसकेपछि कुनै पनि संस्थामा विद्रोह हुने भन्दै नेतृत्वले समय सापेक्ष काम नगर्ने र उत्तरदायित्वबाट पन्छिने बाटो खोज्न थालेपनि विकल्पको खोजी गरिएको जनाएको छ ।
पेट्रोलियम पदार्थको कारोवार गर्ने, नेपाल आयल निगमका देशभरका आधिकारीक बिक्रेताहरुको छाता संगठन ‘नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन’ बाट व्यवसायीहरुको हकहितमा काम हुन नसकेपछि आफूहरुले पेट्रोलियम व्यवसायी संघ गठन गरेको अर्को पक्षले जनाएको छ ।
साउन ३१ गते बाट’पेट्रोलियम ब्यवसायी संघ नेपाल’ नामक संस्था दर्ता गरी नयाँ संस्था मार्फत कारोबार सुरु गरेको कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्टा र महासचिव आत्माराम थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफूहरुले काम सुरु गरेको दुई हप्ता पनि नभएको र यस अवधिमा गरेको प्रयास र त्यसले व्यवसायीहरुमा फाइदा पुगेको दाबी उनीहरुको छ ।
देशको विद्यमान ऐन-कानुनको अधिनमा रहि पेट्रोलियम पदार्थको कारोबार गर्दा व्यवसायीहरुले नियमनकारी निकायहरुवाट लिनुपर्ने जाँसपास, वार्षिक नविकरण तथा ट्याङ्क र ट्रकहरुको नापतौल लगायतका काममा संस्थाले सदस्यहरुको हितमा काम गर्नु पर्ने भए पनि त्यो काम हुन नसकेका कारण आफूहरुले संस्था दर्ता गरेको दाबी गरिएको छ ।
संस्थागत हिसावले निर्णय लिँदा व्यवसायीहरु आफै धाउनुपर्ने कुराको अन्त्य हुने विषयमा पनि व्यवसायीहरुको हितमा खोलिएका संस्थाले विभिन्न शिर्षकमा रकम असुल्ने, असुलेको रकमको हर- हिसाव पारदर्शि नगर्ने गर्न थालेपछि पटक-पटक सुध्रिन र व्यवसायीहरुको हकहितमा काम गर्न अनुरोध गरेको भए पनि त्यसअनुसार काम नभएको र त्यसलाई पूर्ण वेवस्था गर्दै मनोमानी ढंगबाट संस्था चलाउन थालेपछि आफूले ‘पेट्रोलियम ब्यवसायी संघ नेपाल’ विधिबत रुपमा दर्ता गराएको विज्ञप्तिमा जनाइएको छ ।
‘आम व्यवसायीहरुको हक हितको संरक्षण र सम्बर्द्धनको लागि काम गर्ने उद्देश्यका साथ स्थापना भएको व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ आयल निगमसँग आवद्ध देशभरका पेट्रोलियम पदार्थको कारोवार गर्ने व्यवसायीहरुलाई सेवा प्रदान गर्नका लागि सरोकारवाला निकाय तथा विभिन्न संघ-संगठन, उद्योगी, व्यवसायीहरुसँग हातेमालो गर्दै संगठित रुपमा अगाडि बढ्ने प्रतिबद्धता हामीले जनाएका छौं । संस्था स्थापनाको उद्देश्य पुरा गर्न हामी कटिबद्ध र प्रतिवद्ध छौं’ विज्ञप्तिमा भनिएको छ ।
संस्था दर्ता गरेसँगै आफूहरुले निगमका सबै डिपोहरुबाट मुअ कर (भ्याट) बीजक बील सहित बीमा पोलिसी जारी गर्ने कार्य सुरु गरेको संघले जनाएको छ ।
नेको इन्स्योरेन्स मार्फत बीमा गराई पेट्रोलियम व्यवसायीहरुलाई प्रत्यक्ष लाभ एवं नेपाल सरकारको प्रचलित कानुनको अधिनमा हुनेगरी बीमा पोलिसी जारी हुने संघले जनाएको छ ।