प्याकेटमा एउटा बिस्कुट कम राखेको भन्दै कम्पनीलाई १ लाख जरिवाना



एजेन्सी । भारतको एक पुरानो कम्पनी आईटीसी लिमिटेडलाई एक थान बिस्कुटको एक लाख रुपैयाँ परेको छ । उक्त कम्पनीले उत्पादन गर्दै आएको बिस्कुटको एक प्याकेटमा एक पिस बिस्कुट कम हुँदा १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको हो ।

प्याकेटमा एक बिस्कुट कम भएपछि उपभोक्ता अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामाथि फैसला गर्दै अदालतले ग्राहकलाई १ लाख रुपैयाँ जरिवाना तिर्न कम्पनीलाई आदेश दिएको छ ।

तमिलनाडुको चेन्नईमा एमएमडीए माथुर केपी दिलीबाबू नाम गरेका व्यक्तिले सन् २०२१ मा कुकुरलाई खुवाउनका लागि एक स्थानीय स्टोरबाट आईटीसीको ब्राण्ड ‘सन फिस्ट मेरी लाइट’ बिस्कुट करिब २ दर्जन किनेका थिए ।

प्याकेटमा उल्लेख गरिए अनुसार त्यसमा १६ वटा बिस्कुट पिस भएको उल्लेख गरिएको थियो । तर जब उनले प्याकेट खोलेर गणना गरे त्यहाँ एक पिस बिस्कुट कम थियो । त्यसपछि उनी बिस्कुट खरिद गरेको स्टोरमा गएका थिए । तर स्टोर मालिकले त्यो कम्पनीको विषय भएको बताए । उनले यसबारे कम्पनीसँग सोधिखोजी गरे । तर कम्पनीबाट जवाफ नआएपछि उनी उपभोक्ता फोरममा पुगे ।

उनले उपभोक्ता फोरममा आईटीसी कम्पनीले हरेक दिन ७५ पैसाको बिस्कुट आफ्नो प्याकेटमा कम राखिरहेको दलिल पेस गरे ।

कम्पनीले हरेक दिन ५० लाख बिस्कुटको प्याकेट उत्पादन गर्दै आएको छ । यस्तोमा हरेक दिन कम्पनीले २९ लाख रुपैयाँ ठगी गरिरहेको उनको दाबी थियो । तर कम्पनीले आफूले संख्यामा नभएर तौलमा बिस्कुट दिने गरेको दाबी गर्‍यो । कम्पनीले बिस्कुटको प्रति प्याकेटमा ७६ ग्राम तौल उल्लेख गरेको थियो । तर १५ बिस्कुट भएको प्याकेटमा केबल ७४ ग्राम मात्र तौल पाइएको थियो ।

कम्पनीले २०११ को कानूनी माप विज्ञान नियम अनुसार प्याक गरिएको सामानमा अधिकता ४.५ ग्राम प्रति प्याकेटको हिसाबले कम हुनुलाई गल्ती मान्न नमिल्ने दाबी अदालतमा गर्‍यो । तर, अदालतले यसलाई अस्वीकार गर्‍यो । अदालतले यस्तो नियम केवल अस्थिर प्रकृतिको सामानमा रहेको र बिस्कुट यो श्रेणीमा नपर्ने भन्दै कम्पनीलाई एक बिस्कुट कम राखेकोमा एक लाख भारतीय रुपैयाँ जरिवानाको फैसला गर्‍यो ।


क्लिकमान्डु